सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुशीलबाबु थकाली / हिमाली जिल्ला मुस्ताङको स्याउ आज नेपालको कृषि क्षेत्रको विशिष्ट पहिचान बनेको छ। मार्फा, टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ ,छैरो र वारागुङमुक्ति क्षेत्रगाउपालिकाका गाउँहरुको स्याउ बगैँचाले मुस्ताङलाई देशभर चिनाएका छन्।
तर मुस्ताङमा स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार र बजार विकाससँगै मुस्ताङको स्याउ खेतीले लामो यात्रा तय गरेको हो।
कुनै समय स्याउलाई नयाँ सम्भावनाको परीक्षणका रूपमा हेरिन्थ्यो। काभ्रेको ककनीमा स्याउ खेतीको परीक्षण केही मात्रामा मात्रै सफल भएपछि हिमाली जिल्लाहरू हुम्ला, जुम्ला ,डोल्पा र मुस्ताङमा समेत स्याउ खेतीको सम्भावना खोजिएको स्थानीय विवरणमा उल्लेख छ । सुरुमा स्याउ फल्न थाले पनि बजारको अभावमा किसानले उत्पादन बिक्री गर्न सकेनन्। कतिपय अवस्थामा स्याउ गाईबस्तुलाई समेत खुवाउनुपर्ने अवस्था थियो। स्याउ खेतीलाई झन्झटिलो ठान्दै केही किसानले त फल दिने रुखसमेत काटेका थिए।
तर समयक्रममा त्यही स्याउले किसानको जीवनस्तर, कृषि जमिनको मूल्य र गाउँको आर्थिक अवस्थामै परिवर्तन ल्यायो। आज मुस्ताङको स्याउ कृषि उत्पादन मात्र नभई स्थानीय पहिचान, पर्यटन र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बनेको छ।
नुन र ऊनको व्यापार कमजोर भएपछि सुरु भयो वैकल्पिक खेती
मुस्ताङको पुरानो अर्थतन्त्र मुख्यतः नुन, ऊन, पशुपालन र सीमापार व्यापारमा आधारित थियो। विशेषगरी टुकुचे क्षेत्रको रत्नपुर भन्सार तथा तिब्बतसँग जोडिएका व्यापारिक मार्गबाट नुन, ऊन र अन्य वस्तुको कारोबार हुने गथ्र्यो। स्थानीय बासिन्दाका अनुसार परम्परागत व्यापार कमजोर हुँदै गएपछि मुस्ताङको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न थाल्यो। स्थानीय उत्पादनले मात्र परिवारको जीविकोपार्जन धान्न कठिन हुन थालेपछि वैकल्पिक आम्दानीको स्रोत खोज्नुपर्ने अवस्था सिर्जना भयो। त्यसै समयमा ‘खम्पा विद्रोह’का कारण पनि क्षेत्रको व्यापारिक गतिविधि प्रभावित भएको स्थानीयको भनाइ छ । जोमसोमका दुई ठूला व्यापारी मारिएपछि नाकाको चहलपहल घटेको र व्यापारिक गतिविधि कमजोर बनेको उनीहरू सम्झन्छन्।
परम्परागत व्यापारको आधार कमजोर भएपछि विशेषगरी थकाली समुदायका धेरै मानिस व्यापार तथा रोजगारीका लागि मुस्ताङबाहिर जान थाले। स्थानीय भूगोल र हावापानीअनुसार नयाँ कृषि उत्पादनको सम्भावना खोज्नुपर्ने आवश्यकता बढ्दै गयो। यही पृष्ठभूमिमा मुस्ताङको चिसो र सुख्खा हावापानीमा फलफूल खेती गर्न सकिने सम्भावनातर्फ ध्यान जान थालेको थियो।
६० को दशकमा भारतबाट ल्याइए स्याउका बिरुवा
मुस्ताङको हावापानी स्याउ खेतीका लागि उपयुक्त हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सन् १९६० को दशकमा भारतको हिमान्चल प्रदेश तथा कश्मीर क्षेत्रबाट स्याउका बिरुवा ल्याएर रोप्न थालिएको स्थानीय विवरणमा उल्लेख छ ।
त्यसबेला किसानलाई स्याउ खेतीतर्फ आकर्षित गर्न प्रतिबिरुवा रोपेमा २५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको बताइन्छ । तत्कालीन सरकारले स्याउ बगैँचा निर्माणलाई कृषि विकासको एउटा महत्वपूर्ण आधारका रूपमा अघि सारेको स्थानीय बासिन्दाको भनाइ छ ।
मुस्ताङमा स्याउ खेतीको सुरुवात र विस्तारमा बुद्धिरत्न शेरचनको योगदान विशेष रूपमा उल्लेख गरिन्छ । उनले स्याउका बिरुवा रोपेर स्थानीय हावापानीमा यसको सम्भाव्यता परीक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय इतिहासमा पाइन्छ ।
स्याउसँगै अंगुर, कागती बदाम, ओखर, नासपाती ,आरु र खुर्पानीजस्ता फलफूल खेतीको सम्भावनासमेत खोजिएको थियो। सुरुवाती समयमा स्याउ खेती सफल होला कि नहोला भन्ने अन्योल रहे पनि प्रारम्भिक प्रयासले मुस्ताङमा फलफूल खेती विस्तारको बाटो खोलेको देखिन्छ।
बागवानी केन्द्र स्थापना र प्रभाव
मुस्ताङमा स्याउ खेतीको विकासका लागि सन् १९६६ अर्थात् वि.सं. २०२२ मा मार्फामा कृषि मन्त्रालय अन्तर्गतको सरकारी बागवानी केन्द्र स्थापना हुनु महत्वपूर्ण उपलब्धि मानिन्छ।
केन्द्र स्थापना भएपछि स्याउका विभिन्न जातको परीक्षण, उन्नत बिरुवा उत्पादन, किसानलाई प्राविधिक सहयोग र आधुनिक खेती प्रणालीको विस्तारमा काम हुन थाल्यो। मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले स्याउ खेतीको प्रविधि र बिरुवा विस्तारमा योगदान पु¥याउँदै आएको छ।
सरकारी प्राविधिक सहयोग र स्थानीय किसानको मेहनतले मार्फा क्षेत्र क्रमशः स्याउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गयो। मार्फाबाट सुरु भएको व्यावसायिक स्याउ खेती टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ, छैरो र आसपासका गाउँमा विस्तार हुन थाल्यो।
स्थानीय स्मरण अनुसार फार्ममा उत्पादित स्याउ तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणका क्रममा समेत प्रस्तुत गरिएको थियो। राजाको सवारी हुँदा मार्फाका तत्कालीन प्रधानपञ्च स्वर्गीय ओम च्याल्पा हिराचनले स्याउ चढाएको स्थानीय बासिन्दाहरू बताउँछन्।
यसरी सरकारी प्रोत्साहन, प्राविधिक सहयोग र स्थानीय प्रयासको संयोजनले मुस्ताङको परम्परागत निर्वाहमुखी कृषिलाई बजारमुखी फलफूल खेतीतर्फ अघि बढाउन सहयोग पु¥यायो।
गाईबस्तुलाई खुवाउनुपर्ने वाध्यता
स्याउ खेती सुरु भएको प्रारम्भिक समयमा सबै किसानले यसलाई व्यावसायिक खेतीका रूपमा अपनाएका थिएनन् । धेरैले परीक्षणका रूपमा थोरै बिरुवा रोपे भने केही सीमित किसानले मात्र ठूला बगैँचा निर्माण गरेका थिए।
केही वर्षपछि स्याउ फल्न थाल्यो। स्थानीय हावापानीमा उत्पादित स्याउ राम्रो र स्वादिलो भएपनि त्यसलाई बिक्री गर्ने भरपर्दो बजार थिएन । सडक तथा यातायात सुविधाको अभावमा उत्पादनलाई जिल्ला बाहिर पु¥याउन कठिन थियो।
स्याउ बिक्री नहुँदा कतिपय किसानले फल गाईबस्तुलाई समेत खुवाउने गरेको स्थानीय बासिन्दाहरू सम्झन्छन्। उत्पादन राम्रो भए पनि बजारको अभावले किसानले त्यसबाट अपेक्षित आर्थिक लाभ लिन सकेनन्।
वि.सं. २०३२ साल फागुन ७ गते सञ्चालनमा आएको जोमसोम विमानस्थल मुस्ताङलाई बाहिरी संसारसँग जोड्ने महत्वपूर्ण माध्यम बन्यो। विमानस्थलमा आउनेजाने हवाईजहाज तथा हेलिकप्टरका पाइलट, यात्रु र चाडपर्वमा घर फर्किने कर्मचारीले मुस्ताङको स्याउ कोसेलीका रूपमा लैजान थाले।
यसरी सीमित मात्रामा बाहिर पुग्न थालेको मुस्ताङको स्याउको चर्चा विस्तारै फैलिँदै गयो। स्याउको स्वाद र गुणस्तरबारे विभिन्न ठाउँमा चर्चा हुन थालेपछि बाहिरी बजारमा समेत यसको माग बढ्ने आधार तयार भयो।
यातायातको सुविधा नहुँदा खच्चडको भर
मुस्ताङमा सडक यातायातको सुविधा पर्याप्त नहुँदा स्याउ बजारसम्म पु¥याउनु किसानका लागि ठूलो चुनौती थियो। मोटरबाटोको पहुँच विस्तार हुनुअघि किसान तथा व्यापारीले खच्चडमा स्याउ बोकेर बेनी हुँदै मालढुङ्गासम्म पु¥याउने गरेको त्यति बेलाको व्यापारी पदम प्रसाद हिराचन बताउँछन्। खच्चडबाट स्याउ ढुवानी गर्नु सजिलो थिएन। लामो दूरी, महँगो ढुवानी खर्च, फल बिग्रिने जोखिम र बजारको अनिश्चितताले किसान तथा व्यापारीलाई समस्यामा पार्ने गरेको हिराचन वताउँछन् ।
त्यसमाथि स्याउ खेतीका लागि नियमित सिँचाइ, मलखाद, बारबन्देज, काँटछाँट र बगैँचाको उचित हेरचाह आवश्यक पथ्र्यो। उत्पादन भएको स्याउ बजारसम्म पु¥याउन नसक्दा कतिपय किसान खेतीप्रति निराश बने । स्थानीय अनुभवअनुसार केही किसानले स्याउ खेतीलाई झन्झटिलो मान्दै ‘स्याउ होइन, झ्याउ’ भन्न थालेका थिए। बजारको अभाव र बगैँचाको हेरचाहमा कठिनाइ भएपछि कतिपयले स्याउका रुखसमेत काटे। नीलगिरि हिमालको फेदीमा रहेको ठिनीको घैतोङ क्षेत्रमा समेत कुनै समय स्याउ बगैँचाको उचित हेरचाह हुन छाडेको स्थानीय बासिन्दाहरू सम्झन्छन्।
यसले स्याउ खेतीको विकास बिरुवा रोप्ने र फल उत्पादन गर्ने विषयमा मात्र सीमित नभई बजार, यातायात र किसानको श्रमसँग प्रत्यक्ष जोडिएको देखाउँछ।
त्यसपछि स्याउ रोप्ने लहर चल्यो
मुस्ताङमा सडक यातायात विस्तार हुने सम्भावना बढ्दै गएपछि स्याउ खेतीको भविष्यप्रति किसानको सोच पनि परिवर्तन हुन थाल्यो। म्याग्दी खण्डमा सडक निर्माण चुनौतीपूर्ण रहे पनि मुस्ताङभित्र यातायातको पहुँच बढ्दै जाँदा व्यापारिक सम्भावना विस्तार हुन थाल्यो।
खच्चडबाट स्याउ ढुवानी गर्ने व्यापारीको सक्रियता बढ्यो। ठूला स्याउ बगैँचा भएका केही किसान तथा व्यापारीले लाखौँ रुपैयाँको स्याउ बिक्री गरेको चर्चा गाउँगाउँमा फैलिन थाल्यो।
यसपछि विभिन्न गाउँमा किसानका बैठक तथा छलफल हुन थाले। मोटरबाटो विस्तार हुँदै छ, अब स्याउ खेती बढाउनुपर्छ भन्ने सोचले स्याउ खेतीलाई नयाँ गति दियो। मुस्ताङमा पर्यटन गतिविधि विस्तार हुन थालेपछि पनि स्थानीय उत्पादनको बजार बढ्ने सम्भावना देखियो। जोमसोममा निजी विमान आउन थालेसँगै स्याउ ढुवानीका लागि हवाई यातायातको प्रयोगसमेत हुन थालेको स्थानीय विवरणमा उल्लेख छ। पर्यटन व्यवसायी बिष्णु राज हिराचनको स्मरणअनुसार वि.सं. २०४९ सालतिर निजी विमानबाट स्याउ ढुवानी गर्ने क्रम बढेको थियो।
पहिले परीक्षणका रूपमा सीमित किसानले मात्र स्याउ रोप्ने गरेकामा पछि धेरै किसानले आफ्ना खेतबारीमा स्याउका बिरुवा रोप्न थाले। बगैँचाको क्षेत्रफल विस्तार हुँदै गएपछि उत्पादन पनि बढ्दै गयो।
सडक पहुँच, बजारको माग र व्यापारीको सक्रियताले स्याउ खेतीलाई मुस्ताङको स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सहयोग पु¥यायो।
स्याउले बदल्यो किसानको जीवनस्तर
स्याउ खेतीबाट आम्दानी हुन थालेपछि मुस्ताङका किसानको जीवनशैलीमा परिवर्तन आउन थाल्यो। परम्परागत रूपमा खाद्यान्न बाली लगाइने धेरै जमिनमा स्याउ बगैँचा निर्माण हुन थाले ।
स्याउ बिक्रीबाट नगद आम्दानी बढेपछि किसानले घर निर्माण, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार, कृषि सामग्री खरिद र अन्य आवश्यकतामा खर्च गर्न सक्ने अवस्था बनेको स्थानीयहरू बताउँछन्।
स्याउ खेतीको विस्तारसँगै कृषि जमिनको आर्थिक महत्वसमेत बढ्न थाल्यो। पहिले सामान्य खेतीयोग्य जमिनका रूपमा हेरिने बारीमा स्याउ बगैँचा निर्माण भएपछि त्यसको मूल्य र उपयोगिता बढ्यो।
पछि व्यक्तिगत बगैँचासँगै सामूहिक स्याउ खेती तथा व्यावसायिक फार्महरू पनि सञ्चालनमा आउन थाले। स्याउ उत्पादन, ढुवानी, बिक्री र प्रशोधनसँगै पर्यटन क्षेत्रमा समेत रोजगारीका अवसर सिर्जना भए।
आज मुस्ताङका विभिन्न गाउँमा स्याउ बगैँचा स्थानीय पहिचान र आर्थिक गतिविधिको महत्वपूर्ण हिस्सा बनेका छन्। पहिले कम उपयोगमा रहेका कतिपय जमिनमा समेत स्याउ खेती विस्तार भएको स्थानीयको अनुभव छ।
मार्फाको स्याउदेखि हिमाली पर्यटनसम्म
मुस्ताङको स्याउले कृषि उत्पादनको पहिचानसँगै पर्यटन विकासमा समेत योगदान पु¥याएको छ । विशेषगरी मार्फाको परम्परागत बस्ती, थकाली संस्कृति, स्थानीय खानाका परिकार र स्याउ बगैँचाले पर्यटकलाई आकर्षित गर्दै आएका छन्।
स्याउ पाक्ने मौसममा पर्यटक बगैँचामा पुगेर स्याउको स्वाद लिने, स्थानीय उत्पादन खरिद गर्ने र गाउँको संस्कृति अनुभव गर्ने गर्छन्। यसले कृषि र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाएको छ।
स्याउबाट जाम, जुस र सुकाइएको स्याउलगायत प्रशोधित उत्पादन तयार गर्ने चलनले पनि स्थानीय उत्पादनको विविधता बढाएको छ।
स्याउ खेतीले किसान, व्यापारी, होटल व्यवसायी, ढुवानी व्यवसायी र पर्यटन क्षेत्रलाई एकअर्कासँग जोडेको छ। यसले मुस्ताङको ग्रामीण अर्थतन्त्रलाई कृषि र पर्यटनको संयुक्त आधारमा अघि बढाउन सहयोग पु¥याएको छ।
जलवायु परिवर्तन र नयाँ चुनौती
पछिल्लो समय जलवायु परिवर्तन, तापक्रम वृद्धि, हिमपातमा कमी, वर्षाको अनियमितता र उत्पादन लागतमा वृद्धि मुस्ताङको स्याउ खेतीका चुनौतीका रूपमा देखिएका छन्।
परम्परागत रूपमा तल्लो मुस्ताङका साविकका गाविसहरू—मार्फा, टुकुचे, कोबाङ र जोमसोम क्षेत्र—स्याउ खेतीका लागि प्रसिद्ध छन्। पछिल्लो समय भने माथिल्लो मुस्ताङका क्षेत्रमा समेत स्याउ खेती विस्तार भइरहेको छ।
बदलिँदो मौसमअनुसार उपयुक्त जातको छनोट, सिँचाइ व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, गुणस्तरीय बिरुवा उत्पादन र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
स्याउको गुणस्तर कायम राख्न र किसानको आम्दानी बढाउन उत्पादनसँगै भण्डारण, प्रशोधन, ढुवानी र बजार व्यवस्थापनलाई पनि प्राथमिकता दिन आवश्यक छ।
मुस्ताङमा स्याउ खेतीको ऐतिहासिक यात्रा हेर्दा किसानको मेहनतसँगै सरकारी सहयोग, प्राविधिक ज्ञान, सडक विस्तार र बजार पहुँचले यसको विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
झ्याउबाट सुन फलाउनेसम्मको यात्रा
मुस्ताङमा परीक्षणका रूपमा रोपिएका स्याउका बिरुवादेखि मार्फाको बागवानी केन्द्र, जोमसोम विमानस्थलबाट कोसेलीका रूपमा बाहिरिएको स्याउ, खच्चडमा बोकेर बेनी र मालढुङ्गासम्म पु¥याइएका फल तथा यातायात विस्तारपछि गाउँगाउँमा फैलिएका बगैँचासम्मको यात्रा मुस्ताङको आर्थिक रूपान्तरणको महत्वपूर्ण कथा हो।
कुनै समय बजार नपाएर गाईबस्तुलाई खुवाउनुपर्ने स्याउ आज मुस्ताङको कृषि, पर्यटन र स्थानीय पहिचानको महत्वपूर्ण आधार बनेको छ। किसानको मेहनत, सरकारी प्रोत्साहन, प्राविधिक सहयोग र बजार पहुँचले सम्भावनाको परीक्षणका रूपमा सुरु भएको खेतीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सहयोग पु¥याएको छ।
मुस्ताङको स्याउको इतिहास केवल एउटा फलको खेतीको कथा होइन। यो परम्परागत व्यापार कमजोर भएपछि वैकल्पिक जीविकोपार्जन खोजेको हिमाली समाजको संघर्ष, बदलिँदो परिस्थितिसँगै अनुकूलन गर्ने किसानको सीप र मेहनत तथा कृषि उत्पादनबाट समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा