सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’ का रूपमा चित्रण गरेका छन्।
जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताबाट उत्पन्न निराशाविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।
उनले परिवर्तनको मागसहित भएको आन्दोलनमा युवाले ज्यान गुमाएको घटनालाई अत्यन्त पीडादायी क्षणका रूपमा स्मरण गरेका छन्। लामिछानेले आगामी दिनमा परिवर्तनका लागि कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गरेका छन्।
एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो।’
उनले भदौ २३ र २४ गते भएको घटनालाई देशका लागि गम्भीर पाठका रूपमा लिनुपर्ने बताएका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति समेत सम्मान व्यक्त गरेका छन्।
आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लामिछानेले यस्ता घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
रास्वपा सभापति लामिछानेले नागरिक समाज तथा आम नागरिकलाई सरकार र राजनीतिक दलका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्न आग्रह गरेका छन्। नागरिकमा देखिएको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
उनले राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको दाबी गरेका छन्। जेनजी पुस्ताले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अब आफ्नो दलसहित राजनीतिक शक्तिमाथि आएको उनले बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र, यो पनि सम्झाएको छ– हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’
लामिछानेले युवा, नागरिक समाज तथा आम नागरिकलाई आफ्नो दलका गतिविधिसमेत निरन्तर समीक्षा र खबरदारी गर्न आग्रह गरेका छन्। आफूहरू पनि जनताको प्रश्न र आलोचनाबाट मुक्त नरहेको उनको भनाइ छ।
लामिछानेले जेनजी आन्दोलनले उठाएका मुद्दालाई राष्ट्र निर्माणसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन्। विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट विचलित नहुने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उनका अनुसार नागरिक आक्रोशलाई सही दिशामा रूपान्तरण गर्न सके त्यसले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, कुशासन र नातावादविरुद्ध प्रदर्शन सुरु गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ युवाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो।
भोलिपल्ट आन्दोलन थप उग्र बन्दै जाँदा देशका विभिन्न स्थानमा आगजनी तथा तोडफोडका घटना भएका थिए। त्यसक्रममा घाइते भएका केहीको पछि मृत्यु भएपछि आन्दोलनसँग सम्बन्धित घटनामा कुल ७६ जनाको मृत्यु र २ हजार ६३८ जना घाइते भएको दाबी गरिएको छ।
मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको उल्लेख गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा