सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको नयाँ दरअनुसार बैंकहरूको निक्षेप ब्याजदर घट्ने क्रम साउन महिनामा पनि निरन्तर देखिएको छ।
२० वाणिज्य बैंकमध्ये ८ बैंकले अघिल्लो महिनाको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन् भने १२ बैंकले असार महिनाकै ब्याजदरलाई यथावत् कायम राखेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहनु र कर्जाको माग अपेक्षाकृत कमजोर रहनुले ब्याजदरमा दबाब परेको विश्लेषण गरिएको छ।
सबैभन्दा धेरै ब्याजदर कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७५ प्रतिशत बिन्दुले र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ। यससँगै ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, कुमारी बैंक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन्।
यता नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
यसबीच नेपाल बैंकले संस्थागत मुद्दती निक्षेपमा ब्याजदर वृद्धि गरेको छ। बैंकले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको भए पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै स्थिर राखेको छ।
साउन महिनाका लागि सार्वजनिक गरिएको दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर नबिल बैंक र प्रभु बैंकले प्रदान गर्ने भएका छन्। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर कायम गरेको छ। प्रभु बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दती निक्षेपमा २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।
पछिल्ला केही महिनादेखि बैंकिङ प्रणालीमा तरलता सहज रहँदा र कर्जाको माग अपेक्षाकृत कम भएकाले निक्षेपको ब्याजदर लगातार ओरालो लागिरहेको छ। यसले निक्षेपकर्ताको प्रतिफलमा असर पर्ने भए पनि बैंकहरूको लागत घटाउन भने सहयोग पुग्ने बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा