सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएको ‘डाबर हनी’को एक ब्याच गुणस्तरहीन प्रमाणित भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा डाबर नेपाल प्रालिद्वारा उत्पादित महमा तोकिएको मापदण्डअनुसार गुणस्तर नपाइएको जनाएको हो।
विभागका अनुसार परीक्षणमा गुणस्तरहीन प्रमाणित भएको उत्पादन ‘डाबर हनी’को ब्याच नम्बर NB004 DABUR हो। उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ रहेको छ भने उपभोग्य अवधि १८ महिना उल्लेख गरिएको ५०० ग्रामको प्याकेटमा गुणस्तर समस्या देखिएको विभागले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा उत्पादनले निर्धारित खाद्य मापदण्ड पूरा नगरेको निष्कर्ष निकालेको हो। विभागले उत्पादनमा कुन तत्व मापदण्डविपरीत भेटिएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
गुणस्तरहीन प्रमाणित भएपछि विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ (२) अनुसार उक्त ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै, ऐनको दफा ३८ (४) अनुसार उक्त ब्याचको ‘डाबर हनी’ बिक्री–वितरण नगर्न पनि स्पष्ट निर्देशन जारी गरिएको विभागले जनाएको छ।
विभागले उपभोक्तालाई पनि सोही ब्याच नम्बरको मह प्रयोग नगर्न आग्रह गरेको छ। बजारमा उपलब्ध उत्पादन खरिद गर्दा ब्याच नम्बर, उत्पादन मिति र गुणस्तरसम्बन्धी विवरण अनिवार्य रूपमा जाँच गर्न उपभोक्तालाई सुझाव दिइएको छ।
डाबर हनी नेपाली बजारमा लोकप्रिय मह ब्रान्डमध्ये एक मानिन्छ। पछिल्लो समय खाद्य वस्तुमा गुणस्तरसम्बन्धी प्रश्न बढिरहेका बेला विभागले विभिन्न खाद्य सामग्रीको नमूना परीक्षणलाई तीव्र बनाएको छ। यसअघि पनि चाउचाउ, बिस्कुट, पेय पदार्थलगायत विभिन्न खाद्य उत्पादन गुणस्तरहीन प्रमाणित भएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको थियो।
विभागले खाद्य उद्योगहरूलाई उत्पादन प्रक्रियामा स्वच्छता, गुणस्तर र मापदण्डको पूर्ण पालना गर्न चेतावनी दिँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने कम्पनीमाथि कानुनी कारबाही गरिने जनाएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा