सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अजितकुमार झा /इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा चार दिनसम्म हर्षोल्लास र निष्ठापूर्वक मनाइने लोकआस्थाको महापर्व छठ विधिवत् रूपमा समापन भएसँगै विभिन्न नदी, पोखरी र जलाशयका घाटमा थुप्रिएको फोहोरले गम्भीर पर्यावरणीय समस्या निम्त्याएको छ ।
आस्थाको प्रतीक मानिने यी जलस्रोतमा पूजाका अवशेष, प्लास्टिकजन्य सामग्री र केराका थाम अलपत्र छाडिएपछि स्थानीय तह र आयोजक समितिको उदासीनतामाथि प्रश्न उठेको छ ।
पर्वका बेलामा दुलही झैँ सिँगारिने इनरुवाका विभिन्न घाट, सुनसरी खोला, बुढी खोला तथा स्थानीय पोखरीमा अहिले प्लास्टिकका झोला, केराका बोट तथा थम, फूल तथा फूल छरपस्ट अवस्थामा थुप्रिएका छन् ।
पर्वको उमङ्ग सकिएसँगै घाट सरसफाइ गर्ने जिम्मेवारीप्रति कसैले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।
प्रकृति र जलस्रोतको पूजा गरेर मनाइने छठ पर्वले पर्यावरण संरक्षणको सन्देश दिने भए पनि विसर्जनका नाममा अपनाइएको लापरबाहीले नदी तथा पोखरी प्रदूषित हुने चिन्ता बढाएको स्थानीय अधिकारकर्मी रमेश भट्टराईले बताए ।
‘छठ आस्थाको महापर्व हो, जसले प्रकृतिलाई सम्मान गर्न सिकाउँछ । तर पूजा सकिएपछि घाटलाई फोहोरको डम्पिङ साइट जस्तै छाडेर जानुले हाम्रो सांस्कृतिक चेतना माथि नै प्रश्नचिह्न खडा गरेको छ,’ इनरुवाका अशोक चितलाङगीयाले बताए ।
घाट सरसफाइको प्राथमिक दायित्व स्थानीय सरकारसँगै सरोकारवालाको भए पनि पर्व सकिएको दिनदेखि नै अधिकांश पालिकाका सरसफाइ शाखाले यसप्रति बेवास्ता गर्दै आएका छन् ।
घाट निर्माण र सजावटका लागि उत्साहका साथ जुट्ने सरोकारवालाले पर्वपश्चात्को सरसफाइका लागि भने मौनता साँध्ने गरेको आरोप लाग्ने गरेको छ ।
बर्सेनि लाखौँ रुपैयाँ चन्दा उठाएर छठ पूजा भव्य रूपमा आयोजना गर्ने विभिन्न ‘छठ पूजा व्यवस्थापन समिति’ हरूको भूमिका पनि पूजा सम्पन्न हुनेबित्तिकै सकिने गरेको छ । अस्थायी रूपमा बनाएका पण्डाल, सजावटका सामग्री र घाटमा फैलिएको फोहोर हटाउने नैतिक जिम्मेवारीबाट समिति पन्छिने गरेका कारण समस्या झनै विकट बन्दै गएको छ ।
केही स्थानीय युवा क्लब र केही सचेत नागरिकले भने व्यक्तिगत वा संस्थागत पहलमा घाट सरसफाइ अभियान चलाउन थालेका छन् । तर, जनस्तरबाट मात्र हुने यस्ता छिटफुटरूपका प्रयासले मात्र ठूलो परिमाणमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न पर्याप्त भइरहेको छैन ।
स्थानीय बौद्धिक वर्ग तथा नागरिक समाजका प्रतिनिधिले स्थानीय प्रशासन, नगरप्रमुख, वडाध्यक्ष र पूजा समितिका पदाधिकारीबीच समन्वय गरी तत्काल संयुक्त सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने जोड दिएका छन् ।
आगामी वर्षमा पर्वको कार्यतालिकासँगसँगै ‘घाट सरसफाइ र फोहोर व्यवस्थापन’ लाई पनि अनिवार्य कार्ययोजनामा समेट्न र नियम पालना नगर्नेलाई जिम्मेवार बनाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा