सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीको गोली लागेर पक्राउ परेका लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरी तथा अन्य अपराधमा संलग्न रहेको खुलेको छ।
बुधबार राति काठमाडौं–३२ स्थित जडीबुटी पुलमुनि नियन्त्रणमा लिन खोज्दा माझीले प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि उनको दायाँ खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय माझी चोरी तथा डकैतीको समूह सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध २०७९ सालमा भक्तपुरमा दर्ता भएका दुई मुद्दासहित इलाका प्रहरी कार्यालय बनेपा लगायत विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको प्रहरीले जनाएको छ।
माझीसँगै प्रहरीले उनको समूहका राकेश थिङ र मनोज कुमार मोक्तानलाई पनि पक्राउ गरेको छ। प्रहरीले उनीहरूको समूहले मोटरसाइकलमा सवार भएर पैदल यात्रुको सुनको सिक्री लुट्ने तथा विभिन्न स्थानमा डाँकाचोरी गर्ने गरेको जनाएको छ। हालसम्म समूहले १५ वटा मोटरसाइकल चोरी गरेको समेत खुलेको छ।
प्रहरीका अनुसार सिक्री लुट्न जाँदा मनोजले मोटरसाइकल चलाउने, राकेश पछाडि बस्ने र आयनले समूहको कमाण्ड गर्ने गरेका थिए। करिब नौ महिनाअघि पक्राउ परेको सिक्री तथा डलर लुट्ने समूहसँग समेत आयन समूहको सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आयन समूहले बौद्ध र स्वयम्भू क्षेत्रमा लुटपाट गर्दै आएको थियो। आयन यसअघि पनि २०७७ सालमा डाँकाचोरी मुद्दामा पक्राउ परी जेल बसेर छुटेका थिए।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार खरिद गरी ठूलो डकैती गर्ने योजना समेत समूहले बनाएको प्रहरीको दाबी छ। तर समूह पक्राउ परेपछि उक्त योजना विफल भएको एसएसपी घिमिरेले बताएका छन्।
असोज १४ गते बौद्ध गेटमा एक व्यक्तिबाट दुई लाख रुपैयाँ लुटिएपछि प्रहरीले लुटेरा समूहको प्रोफाइलिङ गर्दै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरूले बीवाईडी गाडीभित्र रहेका एक व्यक्तिको सिक्रीसमेत लुटेर भागेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत आयन समूहको अपराध संलग्नताबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा