सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हामीले भदौ २३ र भदौ २४ लाई एउटै आँखाले हेर्नु हुँदैन । यी दुई दिनका घटना, उद्देश्य, चरित्र र परिणाम फरक थिए । भदौ २३ गतेको आन्दोलन नेपालको जेन्जी पुस्ताले आफ्नो भविष्य, अधिकार, न्याय र परिवर्तनका लागि गरेको स्वाभाविक तथा जायज आन्दोलन थियो । तर भदौ २४ गते देशभर देखिएको आगजनी, तोडफोड, लुटपाट र राष्ट्रिय संरचनामाथिको आक्रमणलाई त्यही जेन्जी आन्दोलनसँग जोडेर हेर्नु गलत हुनेछ ।
भदौ २३ गतेको आन्दोलन जेन्जी पुस्ताको आवाज थियो । भने,
भदौ २४ गते भएको विध्वंस घुसपैठ र योजनाबद्ध गतिविधि अपराधीक शृङखला थियो ।
भदौ २३ गते सडकमा उत्रिएका युवाहरूको उद्देश्य देश जलाउनु थिएन । उनीहरूको उद्देश्य सिंहदरबारमा आगो लगाउनु थिएन । उनीहरूको उद्देश्य अदालत, सरकारी कार्यालय, ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्ति ध्वस्त पार्नु पनि थिएन । उनीहरू परिवर्तन चाहन्थे । उनीहरू सुशासन चाहन्थे । उनीहरू भ्रष्टाचारको अन्त्य चाहन्थे । उनीहरू राज्यसँग जवाफ चाहन्थे । उनीहरू आफ्नो भविष्य सुरक्षित भएको देख्न चाहन्थे ।
त्यसैले भदौ २३ गतेको आन्दोलन लामो समयदेखि राज्यप्रति बढ्दै गएको निराशा, आक्रोश र असन्तुष्टिको अभिव्यक्ति थियो । पुरानो राजनीतिक सोच र नेतृत्वप्रति प्रश्न उठाउँदै नयाँ पुस्ताले देशमा नयाँपन खोजेको थियो । त्यो आन्दोलन जायज थियो । त्यो आन्दोलनको उद्देश्य जायज थियो । र त्यो आन्दोलनमा उठाइएका प्रश्नहरू पनि जायज थिए ।
तर भदौ २४ गते के भयो ?
एक दिनअघि परिवर्तन, न्याय र अधिकारको आवाज लिएर सडकमा उत्रिएको आन्दोलन अचानक कसरी आगजनी र विध्वंसमा परिणत भयो ? देशका महत्वपूर्ण सरकारी संरचना, ऐतिहासिक धरोहर, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि एकैसाथ कसरी आक्रमण हुन पुग्यो ? आन्दोलनकारी युवाहरूको भीडमा को–को घुसे ? कसले आन्दोलनको दिशा परिवर्तन गर्यो ? कसको स्वार्थका लागि देश जलाइयो ?
यी प्रश्नहरूको जवाफ खोज्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
भदौ २४ गतेको घटनाक्रम हेर्दा सामान्य आक्रोशको अभिव्यक्ति मात्र भन्न सकिने अवस्था छैन । विभिन्न स्थानमा एकैसाथ भएको आगजनी, सार्वजनिक संरचनामाथिको आक्रमण, पेट्रोल तथा प्रज्वलनशील पदार्थको प्रयोग, तोडफोड र लुटपाटका दृश्य घटनाका गम्भीर प्रमाण हुन । त्यसैले भदौ २४ गतेको घटनामा घुसपैठ भएको थियो कि थिएन ? योजनाबद्ध समूह परिचालित थिए कि थिएनन् ? आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने तत्व सक्रिय थिए कि थिएनन् ? भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनैपर्छ ।
जेन्जी आन्दोलनलाई बदनाम गर्ने सबैभन्दा ठूलो प्रयास पनि यहीँबाट भएको देखिन्छ । भदौ २३ गते युवाहरूले उठाएको जायज आन्दोलनलाई भदौ २४ गतेको विध्वंससँग जोडेर सम्पूर्ण जेन्जी पुस्तालाई दोषी देखाउने प्रयास स्वीकार्य हुन सक्दैन । किनकि आन्दोलनमा सहभागी हजारौँ युवाहरूले देश जलाउनका लागि आन्दोलन गरेका थिएनन् । उनीहरूले आफ्नै देशको सार्वजनिक सम्पत्ति जलाउनका लागि आवाज उठाएका थिएनन् ।
आन्दोलनको उद्देश्य परिवर्तन थियो, विनाश थिएन ।
आन्दोलनको लक्ष्य सुशासन थियो, लुटपाट थिएन ।
आन्दोलनको माग न्याय थियो, आगजनी थिएन ।
त्यसैले भदौ २३ र भदौ २४ बीच स्पष्ट र फरक रेखा कोर्नुपर्छ ।
भदौ २३ गते राज्यले आन्दोलनकारीमाथि गरेको दमन, र भएको मानवीय क्षतिको निष्पक्ष छानबिन हुनुपर्छ । दोषीमाथि कानुनी कारबाही हुनुपर्छ । पीडितले न्याय पाउनुपर्छ ।
त्यसैगरी भदौ २४ गते देशभर भएको विध्वंस, आगजनी, लुटपाट र राष्ट्रिय सम्पत्तिमाथिको आक्रमणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ । त्यसमा संलग्न व्यक्ति, समूह र योजनाकार को हुन् भन्ने सत्य जनतासामु आउनुपर्छ । कानुनले दुवै घटनालाई निष्पक्ष रूपमा हेर्नुपर्छ ।
यदि भदौ २३ गते भएको राज्य दमनमा मौन बसिन्छ भने त्यो न्यायमाथिको अन्याय हुनेछ । र यदि भदौ २४ गतेको विध्वंसलाई आन्दोलनको नाममा ढाकछोप गरिन्छ भने त्यो राष्ट्रमाथिको अर्को अन्याय हुनेछ ।
हामीले सत्यलाई दुई भागमा बाँड्न हुँदैन । न त आन्दोलनका नाममा अपराधलाई संरक्षण दिन मिल्छ, न अपराधको बहानामा जायज आन्दोलनलाई बदनाम गर्न मिल्छ । भदौ २३ गतेको आन्दोलन जेन्जी पुस्ताको वास्तविक आन्दोलन थियो ।
भदौ २४ गतेको विध्वंसमा घुसपैठ र योजनाबद्ध गतिविधिको थियो ।
आज आवश्यक छ,भदौ २३ का आन्दोलनकारीले न्याय पाऊन् ।
आज आवश्यक छ,भदौ २४ का वास्तविक दोषी पहिचान होऊन् आज आवश्यक छ,जेन्जी आन्दोलनको वास्तविक उद्देश्य र इतिहासलाई विकृत हुनबाट बचाउन । हामीले भदौ २३ गतेको जायज आन्दोलनको सम्मान गर्नुपर्छ । त्यो आन्दोलनले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्छ । त्यसका सहिद र पीडितलाई न्याय दिनुपर्छ । तर त्यससँगै भदौ २४ गते देशमाथि भएको विध्वंसको सत्य पनि बाहिर ल्याउनुपर्छ । किनकि भदौ २३ को आन्दोलन र भदौ २४ को विध्वंस एउटै कुरा होइनन् ।
एउटा थियो,नयाँ पुस्ताको आवाज । अर्को थियो त्यो आवाजमाथि भएको घुसपैठ र देशलाई विध्वंसतर्फ धकेल्ने घटनाक्रम । त्यसैले इतिहासले पनि यी दुई दिनलाई एउटै रूपमा होइन, सत्यका आधारमा फरक–फरक रूपमा मूल्यांकन गर्नुपर्नुपर्छ ।
अजय सोडारी
जेन्जी अभियान्ता
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा