काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमिततासम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ ।
सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका विभिन्न तहमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।
यसअघि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी आह्वान गरिएकोमा उजुरी आउनेक्रम जारी रहेकाले थप २० दिन समय थप गरिएको सोसाइटीले जनाएको छ ।
थप गरिएको समयअनुसार अब आगामी भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिनेछ ।
नेपाल रेडक्रस सोसाइटीले संस्थामा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको जनाएको छ । पछिल्लो समय संस्थाका गतिविधि तथा व्यवस्थापनसम्बन्धी विभिन्न समाचार सार्वजनिक भएपछि संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेको भन्दै त्यसको निराकरणका लागि छानबिन प्रक्रिया अघि बढाइएको हो ।
प्राप्त उजुरी तथा गुनासोको अध्ययन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ डा. दिपेश घिमिरेको नेतृत्वमा गठित टोलीले गर्नेछ । टोलीमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन् ।
सोसाइटीका अनुसार उजुरीकर्ताले आफ्नो पहिचान गोप्य राख्न चाहेमा गोपनीयताको संरक्षण गरिनेछ । प्राप्त सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोप्य ढंगले व्यवस्थापन गरिने जनाइएको छ ।
उजुरी इमेलमार्फत नगलबकय२लचअक।यचन, हुलाकमार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालीमाटी (पोस्ट बक्स नं. २१७), वा कार्यालयमै प्रत्यक्ष दर्ता गर्न सकिनेछ ।
त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० (बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म) र ह्वाट्सएप नम्बर ९७४१६९५०९७ मार्फत पनि उजुरी दिन सकिने सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, ताहाचल, काठमाडौंले जारी गरेको सूचनामा संस्थामा सुशासन, पारदर्शिता र जनविश्वास अभिवृद्धिका लागि अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरिएको छ ।






