सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि विभिन्न कारणले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्र बनाएको जनाएको छ।
विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा स्रोत व्यवस्थापनसम्बन्धी समस्याका कारण लामो समयदेखि रोकिएका स्मार्ट लाइसेन्सहरू हाल पूर्ण रूपमा छापी सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइसकिएको छ।
विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौताअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स तयार पारिएको विभागले जनाएको छ। साउन ७ गतेसम्म २७ लाख ४७ हजार २५३ थान स्मार्ट लाइसेन्स कार्ड हुलाकमार्फत देशभरका सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको जानकारी विभागले दिएको छ।
लामो समयसम्म लाइसेन्स प्राप्त गर्न प्रतीक्षा गर्नुपरेका सेवाग्राहीप्रति आभार व्यक्त गर्दै विभागले अब सम्बन्धित कार्यालयबाट लाइसेन्स बुझ्न सकिने जनाएको छ।
यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने छापिएको छैन। विभागका अनुसार हाल नवीकरण गर्दा १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त गर्न सकिने व्यवस्था रहेकाले एक वर्षभन्दा कम म्याद बाँकी भएका सेवाग्राहीलाई आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नवीकरण गर्न अनुरोध गरिएको छ।
विभागले लाइसेन्स सेवा प्रणालीलाई थप आधुनिक र सहज बनाउन विभिन्न सुधारसमेत लागू गरेको जनाएको छ। अब नयाँ लाइसेन्स तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्रमा रहेको विवरण स्वतः प्रयोग गरिने, राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने तथा लाइसेन्समा भएका विवरणगत त्रुटिहरू सम्बन्धित कार्यालयबाटै तत्काल सच्याउन सकिने व्यवस्था गरिएको छ।
यस्तै, वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि स्मार्ट लाइसेन्सको द्रुत छपाइ तथा वितरणको विशेष व्यवस्था गरिएको विभागले जनाएको छ। यी सुधारले सेवाग्राहीलाई छिटो, सहज र झन्झटरहित सेवा उपलब्ध गराउन मद्दत पुग्ने विभागको विश्वास छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा