सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रूपान्तरणमा विद्यार्थी नेता तथा अनेरास्ववियुका पूर्वनेताहरूको भूमिका निर्णायक हुने बताएकी छन्। उनले समयअनुकूल नेतृत्व विकास गर्दै पार्टीलाई नयाँ ऊर्जा दिन पूर्वअखिलको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरिन्।
‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै लामाले नेपालमाथि विदेशी शक्तिहरूको चासो बढ्दै गएको दाबी गर्दै पूर्व र पश्चिम दुवैतर्फका शक्तिहरूले नेकपा एमालेको नेतृत्वमा अघि बढेको कम्युनिष्ट आन्दोलनलाई सहज रूपमा नहेरेको बताइन्।
उनले एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डाहरू कमजोर नरहेको उल्लेख गर्दै ती एजेण्डालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा आलोचना खेप्नुपरेको स्वीकार गरिन्। नेतृत्व र कार्यदिशामा देखिएका कमजोरीबारे आत्मसमीक्षा गर्दै पार्टीलाई समयअनुकूल ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
‘देशविदेशी शक्तिहरूले नेपाललाई गिद्धे नजरले हेरेका छन्। पूर्व र पश्चिम दुवैतर्फबाट एमाले र कम्युनिष्ट आन्दोलनको नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको छ। त्यसलाई चिर्न आवश्यक छ,’ लामाले भनिन्, ‘हाम्रो पार्टीले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डा कमजोर थिएनन्। तर कार्यान्वयन र नेतृत्वका केही कमजोरीका कारण अपेक्षित सफलता हासिल गर्न सकेनौँ।’
उनले जनताको बहुदलीय जनवाद (जबज), माक्र्सवाद र नेतृत्व शैलीलाई समयअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै अबको नेतृत्व युवाले सम्हाल्नुपर्ने धारणा राखिन्। अनेरास्ववियुका पूर्वअध्यक्षहरूबाट समेत पार्टीको नेतृत्वमा नयाँ पुस्ता स्थापित हुन सक्ने उनको विश्वास थियो।
लामाले पछिल्लो समय रोजगारी, अवसर र भविष्यको खोजीमा ठूलो संख्यामा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै पार्टीमा योगदान गर्न चाहने धेरै युवासमेत निराश भएर टाढिने अवस्था सिर्जना भएको बताइन्। पार्टीभित्र पहुँच, गुट र निकटताका आधारमा अवसर वितरण हुने प्रवृत्तिले इमानदार कार्यकर्ताको मनोबल कमजोर बनाएको भन्दै उनले यस्तो संस्कृतिमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरिन्।
उनले अन्त्यमा नेकपा एमाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, विकास र राष्ट्रिय हितको पक्षमा दृढ रूपमा उभिने पार्टीका रूपमा अझ सशक्त ढंगले स्थापित हुनुपर्नेमा जोड दिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा