सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी सडकमा अनियन्त्रित भई पल्टिएको हो।
गुर्भाकोट नगरपालिका–१३ का करिब ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालक सकुशल रहेका छन् भने बाँकी १९ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी सुर्खेतका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वलीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा उपचार भइरहेको छ।
यस्तै, गुर्भाकोट नगरपालिका–१३ की ५ वर्षीया रियाज शाही र तनहुँ घर भएकी ३९ वर्षीया भावना राईको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। रियाजको कर्णाली केयर अस्पताल र भावना राईको माया अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइतेहरूको कर्णाली केयर अस्पताल, माया अस्पताल तथा मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको टाउको, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि चालक गगन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा