सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।
प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन् ।
सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका छन् ।
प्रदेश प्रेस रजिस्ट्रार भट्टराईले नियुक्त भए लगत्तै प्रतिष्ठानले रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार १०० वाटदेखि एक हजार वाट क्षमतासम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ ।
उनले प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने सञ्चार माध्यमलाई असार मसान्तभित्र नवीकरण गर्न आग्रह गर्दै आगामी आर्थिक वर्षदेखि नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
कोशी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी ऐन, २०८२ अनुसार गठन गरेको प्रतिष्ठानले प्रदेशभित्र सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको जिम्मेवारी निर्वाह गर्नेछ । साथै स्वतन्त्र, मर्यादित र जिम्मेवार पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि प्रतिष्ठानले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा