सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । विगत चार महिनादेखि जारी पश्चिम एसियाली द्वन्द्वले फेरि गम्भीर मोड लिएको छ। अमेरिका र इरानबीच भएको ६० दिने युद्धविराम सम्झौता दुई हप्तामै भंग भएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ।
सम्झौता अनुसार अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न अनुमति दिएको थियो। तर हर्मुज जलडमरूमा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले उक्त अनुमति फिर्ता लिएको छ। यससँगै इरानमाथि आर्थिक दबाब थपिएको छ भने सैन्य तनाव पनि बढेको छ।
हर्मुज जलडमरूमा आक्रमणपछि पुनः सुरु भयो प्रतिशोध
इरानले हर्मुज जलडमरू क्षेत्रमा जहाजहरूमाथि आक्रमण गरेपछि अमेरिकाले तेहरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गरेको बताइएको छ। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका मुलुकहरूलाई निशाना बनाउन थालेको दाबी गरिएको छ।
मिडिया रिपोर्टअनुसार इरानले कुवेततर्फ पनि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। कुवेती सेनाले शत्रुपक्षबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको पुष्टि गर्दै प्रतिरक्षा प्रणाली सक्रिय बनाइएको जनाएको छ।
कुवेतका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो। सेनाले केही विस्फोटका आवाजहरू शत्रुको क्षेप्यास्त्र तथा ड्रोन हावामै नष्ट गर्दा आएको जनाएको छ। साथै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
सम्झौता किन भंग भयो ?
अमेरिका र इरानबीच गत जुन १८ मा भएको सहमतिअनुसार ६० दिनसम्म शत्रुता रोक्ने र व्यापारिक जहाजलाई सुरक्षित आवतजावतको व्यवस्था गर्ने सहमति भएको थियो।
तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले हर्मुज जलडमरूमामा तीन ठूला तेल ट्याङ्करमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको आरोप लागेको छ। ती आक्रमण साउदी अरेबिया र कतारबाट आएका जहाजलाई लक्षित गरी गरिएको बताइएको छ।
इरानले भने ती जहाजहरूले आफ्नो चेतावनी बेवास्ता गरेको दाबी गर्दै आएको छ।
अमेरिकाको प्रतिकार, इरानी सैन्य संरचनामा आक्रमण
इरानको कदमपछि अमेरिकाले कडा प्रतिक्रिया जनाउँदै इरानभित्रका विभिन्न सैन्य संरचनामा हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) का अनुसार इरानका ८० भन्दा बढी सैन्य संरचना नष्ट गरिएको छ। तीमध्ये वायु रक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण केन्द्र, तटीय रडार, एन्टी–शिप मिसाइल प्रणाली तथा IRGC सम्बन्धित दर्जनौँ साना डुंगा रहेका छन्।
यससँगै अमेरिकाले इरानलाई तेल बिक्री गर्न दिएको सहुलियत पनि खारेज गरेको छ। नयाँ नियमअनुसार इरानले मंगलबारपछि नयाँ तेल बिक्री सम्झौता गर्न नपाउने बताइएको छ।
इरानको चेतावनी
अमेरिकाको कदमपछि इरानले कडा प्रतिक्रिया दिएको छ। इरानी उप–विदेशमन्त्री काजेम घरिबादीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।
इरानले अमेरिकाको कदमको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ।
विश्व बजारमा असर, तेलको मूल्य बढ्ने जोखिम
अमेरिका–इरान तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७५ अमेरिकी डलर आसपास पुगेको र अमेरिकी WTI ७१ डलरसम्म पुगेको बताइएको छ।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलडमरूमाको सुरक्षा जोखिममा परेपछि विश्वव्यापी ऊर्जा संकट थप गहिरिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
यदि अमेरिका र इरानबीचको तनाव थप बढ्दै गयो भने तेल आपूर्ति, विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा ठूलो प्रभाव पर्न सक्ने देखिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा