सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको विमानस्थलको पारिवारिक तस्बिरबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूविरुद्ध चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिप्पणीपछि काफ्लेले बुधबार आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
काफ्लेले तस्बिरमा सुरक्षाकर्मी (पिएसओ) ले बोकेको झोला आफ्नो नभई सुरक्षाकर्मीको निजी झोला भएको स्पष्ट पारेकी छन्। तथ्य नबुझी विभिन्न अनुमान र आरोप लगाएर आफ्नो प्रतिष्ठामाथि आघात पुर्याउने प्रयास गरिएको उनको भनाइ छ।
‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँकै निजी हो। तर विभिन्न शंका र अड्कलबाजीका आधारमा मेरो चरित्रहत्या गर्न खोजिएको छ,’ काफ्लेले सामाजिक सञ्जालमा लेखेकी छन्।
प्रधानमन्त्री साह महाधिवेशनका कार्यक्रमबीच पत्नी सबिना काफ्ले र छोरीसँग बुद्ध एअरमार्फत काठमाडौं फर्किएका थिए। विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्रीले छोरी बोकेको देखिएका थिए भने काफ्लेको हातमा मोबाइल मात्र थियो। सोही क्रममा सुरक्षाकर्मीले झोला बोकेको दृश्य सार्वजनिक भएपछि उक्त झोला प्रधानमन्त्री पत्नीको भएको दाबी गर्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो।
काफ्लेले केही सञ्चारमाध्यमले सत्यता पुष्टि नगरी समाचार प्रकाशन तथा प्रसारण गरेर महिलामाथि चरित्रहत्या गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिएको आरोप लगाएकी छन्। विगतमा पनि आफूलाई विभिन्न राजनीतिक नेताका पत्नीहरूसँग तुलना गर्दै अनावश्यक टिप्पणी गरिने गरेको उल्लेख गर्दै उनले यसअघि मौन बसे पनि यसपटक बोल्न बाध्य भएको बताइन्।
उनले नयाँ नेतृत्व आए पनि समाज र सञ्चारमाध्यमको सोचमा अपेक्षित परिवर्तन नदेखिएको गुनासो गर्दै तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औंल्याएकी छन्। साथै, प्रेस काउन्सिल वा कानुनी बाटो अपनाउन सकिने अवस्था भए पनि आफूले आम नागरिकका रूपमा मात्र आफ्नो धारणा सार्वजनिक गरेको बताएकी छन्।
‘यो सानो विषय जस्तो देखिए पनि यस्ता घटनाले व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ। त्यसैले तथ्यमा आधारित समाचार र जिम्मेवार अभिव्यक्ति आवश्यक छ,’ काफ्लेले उल्लेख गरेकी छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा