सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण माग गरेको विषयमा उठेको आलोचना र आशंकाप्रति प्रष्टीकरण दिँदै यो कार्य विपद् पूर्वतयारीका लागि गरिएको जनाएको छ।
जंगी अड्डाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सुकुमवासी बस्तीको विवरण संकलनलाई विपद् व्यवस्थापनसँग सम्बन्धित नियमित प्रक्रिया भएको स्पष्ट पारेको हो। पछिल्लो केही दिनयता सेनाले सुकुमवासी बस्तीको विवरण संकलन गरेको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचना तथा आशंका व्यक्त भइरहेका थिए।
विज्ञप्तिमा सेनाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मनसुनजन्य विपद्—बाढी, पहिरो, डुबान र नदी कटान—बाट हुन सक्ने क्षतिको जोखिमलाई मध्यनजर गर्दै तयारी अघि बढाइएको उल्लेख गरिएको छ।
सेनाका अनुसार स्थानीय युनिटमार्फत आफ्नो कार्यक्षेत्रमा सम्भावित विपद् जोखिमको नक्साङ्कन गर्ने, तथ्यांक अद्यावधिक गर्ने तथा उद्धार, राहत वितरण र पुनर्स्थापना कार्यलाई सहज बनाउन आवश्यक विवरण संकलन गरिएको हो।
“विपद्जन्य घटनामा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्यांक अद्यावधिक गरिएको हो,” विज्ञप्तिमा भनिएको छ।
हाल संघीय सरकारको समन्वयमा काठमाडौं लगायत विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने प्रक्रिया पनि अघि बढिरहेको सन्दर्भमा सेनाको यो विवरण संकलनलाई लिएर विभिन्न आशंका व्यक्त भएका थिए।
त्यसपछि सेनाले स्पष्ट पार्दै संकलित विवरण कुनै अन्य उद्देश्यका लागि नभई विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन मात्र प्रयोग गरिने जनाएको छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा