सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदैछन् ।
रायमाझीले ३ वर्ष ६ महिना जेल सजाय भुक्तान गरेपछि आज कारागारबाट बाहिरिन लागेका हुन् । उनी हाल काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी तथा संगठित अपराध गरेको प्रकरणमा रायमाझी दोषी ठहर भएका थिए । उक्त प्रकरणले नेपाली राजनीति र प्रशासनिक क्षेत्रमा ठूलो चर्चा तथा विवाद सिर्जना गरेको थियो ।
ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट
रायमाझीले ६५ वर्ष उमेर पूरा गरेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकलाई कसुरको प्रकृतिअनुसार कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ ।
काठमाडौं जिल्ला अदालतले यही व्यवस्थाअनुसार रायमाझीलाई तोकिएको चार वर्ष कैद सजायमध्ये २५ प्रतिशत अर्थात् एक वर्ष छुट दिने निर्णय गरेको थियो । त्यसपछि उनको कायम कैद सजाय तीन वर्ष भएको थियो । अदालतको गणनाअनुसार उनले उक्त कैद अवधि पूरा गरिसकेका छन्
२०८० वैशाखदेखि थिए कारागारमा
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । त्यसयता उनी डिल्लीबजार कारागारमा रहँदै आएका थिए ।
काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई ठगी, राज्यविरुद्धको कसुर तथा संगठित अपराधलगायतका कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
त्यस्तै, पीडित राहत कोषमा एक हजार ६०० रुपैयाँ दाखिला गर्नुपर्ने फैसला पनि भएको थियो । जरिवानाबापत हुन सक्ने थप कैद अवधि समेत उनले यसअघि नै बिताइसकेको थुनावधिबाट मिलान गरिएको अदालतको विवरणमा उल्लेख छ ।
अदालतको आदेशपछि रिहा हुँदै
६५ वर्ष उमेर पुगेपछि रायमाझीले ज्येष्ठ नागरिकको सुविधाअन्तर्गत कैद छुट माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कात्तिक १३ गते कैद छुट दिने निर्णय गरेको थियो ।
त्यसपछि अदालतले डिल्लीबजार कारागारलाई कात्तिक २६ गते रिहा गर्न पत्राचार गरेको थियो । अदालतको आदेशअनुसार अन्य कुनै मुद्दा वा कारणले थुनामा राख्नुपर्ने अवस्था नरहेमा उनी आज कारागारबाट मुक्त हुनेछन् ।
रायमाझीको रिहाइसँगै चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका राजनीतिक व्यक्तिहरूको सजाय र कानुनी व्यवस्थाबारे पुनः चर्चा सुरु भएको छ ।
नोट: रायमाझीलाई सुरुमा चार वर्ष कैद सजाय सुनाइएको हो। ज्येष्ठ नागरिक सुविधाबाट एक वर्ष छुट पाएपछि तीन वर्ष कायम भएको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा