सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलुमा छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरिएको छ । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्ज कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ २३ गतेको निर्णयअनुसार छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने प्रक्रिया अघि बढाइएको थियो । वन तथा वातावरण मन्त्रालयले २०८२ असोज २३ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि निकुञ्ज स्थापनाले औपचारिकता पाएको थियो ।
निकुञ्जको प्रशासनिक सेवा प्रवाह र संरक्षणसम्बन्धी गतिविधि सञ्चालनका लागि २०८३ कात्तिक २० गते शुक्रबार पुलुमा कार्यालय स्थापना गरिएको हो । निकुञ्जका प्रमुख एवं संरक्षण अधिकृत विष्णु रोकायाका अनुसार स्वीकृत दरबन्दीअनुसार कार्यालयमा २८ जना कर्मचारी रहने व्यवस्था छ ।
छायाँनाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल ८४३ वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्रको क्षेत्रफल २०७ वर्ग किलोमिटर रहेको छ । निकुञ्ज स्थापनासँगै वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, वन पैदावारको अवैध चोरी निकासी नियन्त्रण र प्राकृतिक सम्पदाको दिगो व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । त्यस्तै, निकुञ्जभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, छायाँनाथ धामको प्रवद्र्धन र पर्यटकीय पदमार्गको पहिचान तथा विकास गर्ने योजना छ ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको सहभागितामा संरक्षण तथा पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । वन पैदावारको उपयोगलाई व्यवस्थित बनाउन निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनसम्बन्धी पञ्चवर्षीय योजना तयार गरी कार्यान्वयन गर्ने तयारीसमेत गरिएको छ ।
कार्यालय स्थापना भएपछि संरक्षणसम्बन्धी प्रशासनिक सेवा स्थानीयस्तरबाटै उपलब्ध हुने अपेक्षा गरिएको छ । यसबाट मुगुको प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा