सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता तथा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएका ९७ प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि विपक्षी बनाइएको अख्तियारले जनाएको छ ।
यस प्रकरणमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरे, पूर्वसचिव छविराज पन्त र पूर्वसहसचिव रमेशचन्द्र अधिकारीसहित विभिन्न सरकारी अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गरिएको प्रकरणमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको जग्गा बिक्री गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा अनुमति दिएको थियो । दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्ने नाममा उक्त निर्णय गरिएको थियो ।
तत्कालीन मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । उक्त निर्णय प्रक्रियामा मन्त्रिपरिषद्को सामाजिक समितिको भूमिका रहेको भन्दै तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजाललाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
यस प्रकरणमा अख्तियारले मन्त्रिपरिषद्को निर्णय प्रक्रियादेखि जग्गा बिक्री तथा सट्टापट्टामा संलग्न विभिन्न राजनीतिक पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा