सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सुधारको लय समातेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार छैटौं कारोबार दिन पनि हरियाली कायम राखेको छ। मंगलबार नेप्से ७.२५ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २,७२६.४९ विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ४१.७० अंकले बढेको थियो। मंगलबार दिनभर बजारमा उतारचढाव देखिए पनि अन्त्यमा सकारात्मक सुधारसँगै परिसूचक बढेर बन्द भएको हो।
आज ३४३ कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ७५ हजार १० पटक किनबेच हुँदा कुल ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो। सोमबार ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
१३ वटा उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहमा गिरावट आएको छ। वाणिज्य बैंक समूह ०.०९ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६४ प्रतिशत, अन्य समूह १.२० प्रतिशत तथा व्यापार समूह २.८८ प्रतिशतले उकालो लागेको छ।
यता होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फन्डलगायत उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।
व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १४.९८ प्रतिशत कमाएका छन् भने नबिल बैंक डिबेन्चरका लगानीकर्ताले ७.४४ प्रतिशतले मूल्य गुमाएका छन्।
कारोबार रकमका आधारमा मंगलबार पनि रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा पनि रिडी पावर नै पहिलो स्थानमा रहँदै १४ लाख ९७ हजार १६५ कित्ता सेयर किनबेच भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ कायम भएको छ।
केही समयदेखि लगातार ओरालो लागेको सेयर बजार नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि सुधारको क्रममा रहेको छ। मंगलबारको वृद्धिसँगै नेप्सेले लगातार छैटौं दिन हरियाली कायम राख्दै बजारमा लगानीकर्ताको विश्वास पुनः फर्किन थालेको संकेत गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा