सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।
उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
कार्कीले समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु’ उनले भनिन् ।
आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र सुधार रहेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य बीमालाई सबै नेपाली नागरिकसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।
हाल स्वास्थ्य बीमाको पहुँच ३७ प्रतिशतमा सीमित रहेको र करिब १२ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले सबै नागरिक बीमामा आबद्ध भएमा वार्षिक १८ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने र सेवा विस्तार सम्भव हुने दाबी गरिन् ।
उनले भनिन्, ‘मैले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि काम गर्ने हो । त्यसमा स्वास्थ्य बीमामा नेपाली नागरिकहरू आबद्ध हुनुप¥यो । निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संभावना छ । तर अहिले स्वास्थ्य बीमाको पहुँच नै ३७ प्रतिशत मात्रै छ । १२ अर्ब जति भुक्तानी दिन बाँकी छ । तर राम्रो तरिकाले शतप्रतिशत नेपाली जनताले स्वास्थ्य बीमामा आबद्ध हुने हो भने १८ अर्ब बार्षीक आउने रहेछ । भुक्तानी दिएर पनि बाँकी रकम बचाउन सकिन्छ । जसमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ ।’
उनले आपतकालीन सेवा तथा ट्रमा म्यानेजमेन्ट प्रणालीलाई प्रभावकारी बनाउन एम्बुलेन्सको केन्द्रीय नियन्त्रण प्रणाली, स्वास्थ्य तथ्यांकको व्यवस्थित संकलन र इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
उनले भनिन्, ‘एउटा स्वास्थ्यको हकमा, अर्को इमर्जेन्सी, ट्रमा म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन जरूरी छ । जस्तै एम्बुलेन्सहरूको कन्ट्रोल मेकानिजम ल्याउन सकिन्छ । डेटाहरू लिने साथै इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा सम्पूर्ण नेपालीलाई आबद्ध गराउन पनि सकिन्छ ।’
स्वास्थ्यसँगै महिला सशक्तिकरण, युवा रोजगारी र भ्रष्टाचार निवारणलाई पनि पार्टीको प्राथमिक एजेन्डा रहेको कार्कीको भनाइ छ । महिलालाई आत्मनिर्भर बनाउने र वडास्तरका बजेटको प्रभावकारी प्रयोग सुनिश्चित गर्न चेक एण्ड ब्यालेन्स प्रणाली आवश्यक रहेको उनले बताइन् ।
‘महिला सशक्तिकरण, आत्मनिर्भर र सशक्त बनाउनको लागि खेल्नुपर्ने भूमिका, वडामा आएको बजेटहरूको सदुपयोग गर्दै चेक एण्ड ब्यालेन्सको काम गर्न सकिन्छ,’उनले भनिन् ।
त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी ब्रेन ड्रेन रोक्ने योजनामा पार्टी केन्द्रित रहेको उनको भनाइ छ ।
जेनजी आन्दोलनपछि बन्ने सरकार स्थायी र बलियो हुनुपर्नेमा जोड दिँदै कार्कीले भ्रष्टाचारका सबै काण्डमा दोषीलाई कारबाही र सुशासन कायम गर्नु प्राथमिकता हुने बताइन् । यसका लागि आवश्यक कानुन र ऐन संशोधन तथा पारित गर्नुपर्ने उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘अब बन्ने सरकारको मुख्य, प्राथमिकता भनेको भ्रष्टाचार निवारण, अहिलेसम्मका भ्रष्टाचारका काण्डहरूमा भएका दोषीहरूलाई कारबाही र सुशासन, सम्बन्धित ऐन वा कानुनहरूको संशोधन गर्नुपर्नेछ ।’
उनका अनुसार रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा धेरै जेनजी उम्मेदवार उठाएको छ, जसमा आठ जना जेनजी र १६ जना महिला उम्मेदवार रहेका छन् । यद्यपि, महिला प्रत्यक्ष उम्मेदवारी अझै अपर्याप्त रहेको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने उनले बताइन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सबैभन्दा बढी जेनजी उम्मेदवारहरू प्रत्यक्ष रूपमा उठाएको छ । आठ जना जेनजी हुनुहुन्छ, महिलाहरू पनि १६ जना हुनुहुन्छ । अन्य पार्टीहरूको तुलनामा हाम्रो धेरै हो तर पर्याप्त होइन,’ उनले भनिन् ।
कार्कीले अघिल्लो निर्वाचनमा संख्या नपुग्दा पार्टीका धेरै प्रस्तावित कानुन र संशोधन पारित हुन नसकेको उल्लेख गर्दै यसपटक एकल बहुमतको सरकार बनेमा पाँच वर्षभित्र ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् ।
गठबन्धन सरकारको बाध्यताले एजेन्डामा सम्झौता गर्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारिन् ।
नयाँ मतदाता र विशेषगरी जेनजी पुस्ताको भूमिका निर्णायक हुने बताउँदै कार्कीले निष्पक्ष, स्वच्छ र व्यापक सहभागितासहितको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नागरिकलाई आग्रह गरिन् । ‘अब बन्ने सरकार जेनजीको म्यान्डेट बोकेको सरकार हुनेछ,’ उनले भनिन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा