सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उच्चपदस्थ अमेरिकी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको अभियोगमा एक पाकिस्तानी नागरिकलाई २७ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ।
अमेरिकी न्याय विभागका अनुसार ४८ वर्षीय आसिफ मर्चेन्टलाई संघीय अदालतले ३३० महिना अर्थात् २७ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को निर्देशनमा अमेरिकी नेताहरूको हत्या गर्ने योजना बनाएको अभियोगमा दोषी ठहर भएका थिए।
अदालतले ब्रुकलिनस्थित संघीय अदालतमा सुनुवाइ गर्दै मर्चेन्टलाई सजाय सुनाएको हो। यसअघि सन् २०२६ मार्चमा संघीय जुरीले उनलाई अन्तर्राष्ट्रिय सीमापार आतंकवादको प्रयास र रकम दिएर हत्या गराउने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो।
अमेरिकी न्याय विभागका अनुसार मर्चेन्ट स्वेच्छाले आईआरजीसीमा आबद्ध भएका थिए। त्यसपछि उनी संगठनका लागि प्रशिक्षित गुप्तचर सहयोगीका रूपमा काम गर्न थालेका थिए। अमेरिकी भूमिमा हत्या गर्ने व्यक्तिहरू खोज्ने र उनीहरूलाई रकम उपलब्ध गराउने उद्देश्यले उनी अमेरिका पुगेको अभियोगमा उल्लेख छ।
अनुसन्धानका क्रममा ट्रम्पसँगै तत्कालीन राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेली पनि सम्भावित निशानामा रहेको खुलेको बताइएको छ।
अमेरिकी अधिकारीहरूले उक्त षड्यन्त्र सन् २०२० जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने उद्देश्यसँग जोडिएको बताएका छन्।
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले अमेरिकी नेताहरूविरुद्ध विदेशी आतंकवादी संगठनले गर्ने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने बताएका छन्। उनले यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा