सुर्खेत । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा माइकिङ गरेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बिहीबार जिल्लाका जोखिमयुक्त क्षेत्र तथा बजारमा माइकिङ गर्दै सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे स्थानीयवासीलाई जानकारी गराइएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका–२ तल्लो डुङ्गेश्वर, ठाटीकाँध गाउँपालिका–२ ठाटीकाँध बजार, चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजार, गुराँस गाउँपालिका–८ धरमपोखरा, गुराँस गाउँपालिका–४ घोडाबास र दुल्लु नगरपालिका–१२ बिनायकमा प्रहरी टोली परिचालन गरी सचेतनामूलक माइकिङ गरिएको थियो।

पूर्वसूचना पाए सुरक्षित स्थानमा जान आग्रह

प्रहरीले बाढी, पहिरो, डुबानलगायत विपद्को पूर्वसूचना प्राप्त भएलगत्तै सुरक्षित स्थानमा जान तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले खोला किनार, भिरालो जमिन र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत सचेत गराइएको प्रहरीले जनाएको छ।

विपद्का समयमा अफवाहको पछि नलागी सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न र आपत्कालीन अवस्था आए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि समुदायस्तरमै पूर्वतयारी र पूर्वसूचनाको पहुँच बढाउन सचेतनामूलक कार्यक्रम गरिएको जनाएको छ। जोखिमको अवस्था हेरी जिल्लाका अन्य स्थानमा समेत माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ।