सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। नयाँदिल्लीमा आयोजना हुने नेपाली कांग्रेस जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने तय कार्यक्रम रद्द भएपछि यसको कारणलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।
थापा शनिबार भारत जाने तयारीमा थिए। पछि उनको भ्रमण आइतबारका लागि सारिएको थियो। तर अन्तिम समयमा उनी भारत नजाने निर्णय भएको हो। भारतको नयाँदिल्लीमा हुने जनसम्पर्क समितिको अधिवेशनमा थापालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापाको भ्रमण ‘नितान्त आन्तरिक तथा प्राविधिक कारण’ले स्थगित गरिएको जानकारी दिएका छन्। उनका अनुसार भ्रमणको नयाँ मिति भने हालसम्म तय गरिएको छैन।
यद्यपि, कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक मतभेदका कारण भ्रमण स्थगित गरिएको हुन सक्ने चर्चा पार्टीभित्र र राजनीतिक वृत्तमा भइरहेको छ। संस्थापन पक्ष र इतर समूहबीच विभिन्न विषयमा असहमति बढिरहेका बेला दुवै पक्षले आ–आफ्ना राजनीतिक गतिविधिलाई निरन्तरता दिइरहेका छन्।
यसैबीच, नयाँदिल्लीमा हुने जनसम्पर्क समितिको अधिवेशन भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जनाइएको छ। थापाको अनुपस्थितिमा कार्यक्रममा पार्टीका अन्य नेताहरू सहभागी हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
सभापति थापाको भारत भ्रमण स्थगित हुनु सामान्य प्राविधिक कारणमात्र हो वा यसमा पार्टीभित्रको विकसित राजनीतिक समीकरणले भूमिका खेलेको हो भन्ने विषयमा औपचारिक रूपमा कुनै पुष्टि भएको छैन। तर घटनाक्रमलाई कांग्रेसको आन्तरिक राजनीतिसँग जोडेर समेत हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा