सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतले नेपाली चिया निर्यातमा कडाइ गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। असार १ र ४ गतेदेखि उत्पादन बन्द गरेका उद्योगहरूले सरकारबाट समस्या समाधानको आश्वासन पाएपछि फेरि उत्पादन सुरु गरेका हुन्।
निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका झापाका करिब ३० वटा सीटीसी (CTC) चिया उद्योग पुनः सञ्चालनमा आएको उद्योगीहरूले जानकारी दिएका छन्। भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) लागू गरेपछि निर्यात प्रक्रिया जटिल बनेको थियो, जसका कारण उद्योग सञ्चालनमै असर परेको थियो।
उद्योगीहरूको समस्याप्रति प्रधानमन्त्रीले चासो देखाएपछि बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातसम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय विशेष कार्यदल गठन गर्ने आश्वासन दिएको थियो। सरकारको यही प्रतिबद्धतापछि उद्योगीहरूले उद्योग पुनः सञ्चालन गर्ने निर्णय लिएका हुन्।
उद्योगीहरूका अनुसार सरकारले भारतसँग आवश्यक कूटनीतिक पहल गरी निर्यातमा देखिएको अवरोध हटाउने विश्वास दिलाएकाले उत्पादन पुनः सुरु गरिएको हो। उनीहरूले कार्यदलले छिटो समाधान निकाल्ने अपेक्षा समेत व्यक्त गरेका छन्।
चिया नेपालको प्रमुख नगदे बाली तथा निर्यातजन्य वस्तुमध्ये एक हो। विशेषगरी झापा र इलाममा उत्पादित सीटीसी र अर्थोडक्स चिया भारतसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ। निर्यातमा अवरोध हुँदा उद्योग, किसान, मजदुर तथा समग्र चिया व्यवसायमा प्रत्यक्ष असर परेको थियो।
सरकारले गठन गर्ने भनिएको कार्यदलले भारतले लागू गरेको नयाँ मापदण्डबारे अध्ययन गर्दै निर्यात सहज बनाउने उपाय खोज्ने अपेक्षा गरिएको छ। उद्योगीहरूले दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा