सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले बिहीबार काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीको बयान लिएको छ।
आयोग स्रोतका अनुसार तिवारीले आन्दोलनका क्रममा आफूले गरेका सबै कार्य संगठनको नीति र निर्देशनअनुसार मात्रै भएको स्पष्ट पारेका छन्।
तिवारीका भनाइ अनुसार सुरुवाती चरणमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनको रूपमा आन्दोलनलाई लिएर सामान्य सुरक्षा व्यवस्था मिलाएको थियो। तर, एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोडिएपछि र भिड संसद भवनतर्फ अघि बढ्न थालेपछि मात्र बल प्रयोग गर्नुपरेको हो।
उनका अनुसार, सुरुमा माइकिङ गरेर चेतावनी दिइयो, त्यसपछि अश्रुग्यास प्रहार गरियो र अन्ततः घुँडामुनि लक्षित गरी रबरको गोली प्रयोग गरिएको थियो। “भिडले संसद भवनतर्फ धक्का दिँदै पर्खाल र गेट तोड्ने प्रयास गरेपछि मात्रै गोली चलाइएको हो,” तिवारीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
तिवारीले गोली प्रहार गर्ने टोली काठमाडौं प्रहरी परिसरका नभई अन्य सुरक्षा निकायका सदस्य हुनसक्ने पनि संकेत गरेका छन्।
उनका अनुसार, “संसद भवन जिल्ला प्रहरी परिसरको कार्यक्षेत्रभित्र पर्दैन, त्यस क्षेत्रमा हाम्रो टोलीले बल प्रयोग गरेको छैन।”
डीएसपी तिवारीले सबै कार्यवाही माथिल्लो कमाण्डको आदेशअनुसार मात्र भएको दाबी गर्दै थपे, “कतिपय आदेश सञ्चार सेटमार्फत् आएका थिए, केही निर्देशन मोबाइल फोनमार्फत् प्राप्त भएका थिए। ती आदेशका ध्वनि रेकर्ड उपत्यका प्रहरी कन्ट्रोल रुममा सुरक्षित छन्, जसले मेरा भनाइहरूको पुष्टि गर्न सक्छ।”
जेनजी आन्दोलन छानबिन आयोगले तिवारीको बयानपछि काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई आज बयानका लागि बोलाएको छ।
आयोग स्रोतका अनुसार, आगामी दिनमा तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग पनि क्रमशः बयान लिने तयारी गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा