सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोयटर्स, मस्को। रुस र युक्रेनबीच लामो समयदेखि जारी भीषण युद्धको बीचमा एक सम्भावित सकारात्मक संकेत देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग बिना कुनै पूर्वशर्त प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेका छन्। यो प्रस्ताव आउँदो मे १५ तारिखका दिन तुर्कीको इस्तानबुलमा वार्ता आयोजना गर्ने सन्दर्भमा गरिएको हो।
शनिबार मस्कोस्थित क्रेमलिनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सन् २०२२ मा रुस–युक्रेनबीच भएको प्रारम्भिक शान्ति वार्ताको स्मरण गरे। उनले भने, “रसियाले त्यो वार्ता तोडेको होइन, वार्ता त्यतिबेला किभले छोडेको हो। तथापि हामी अहिले कुनै पनि पूर्वशर्त बिना वार्ता पुनः सुरु गर्न तयार छौं।”
पुटिनले दाबी गरे कि सन् २०२२ मा दुई देशबीच भएका वार्ताले एक संयुक्त मस्यौदा दस्तावेजको तयारीसम्म पुगेको थियो। “किभ वार्ता टोलीका प्रमुखद्वारा त्यस मस्यौदामा हस्ताक्षरसमेत भएको थियो,” उनले बताए, “तर पश्चिमी मुलुकहरूको दबाबका कारण त्यो सम्झौता लागू हुन पाएन र अन्ततः त्यसलाई रद्दीको टोकरीमा फ्याँकियो।”
यो बयानले पश्चिमी मुलुकहरू, विशेषतः अमेरिका र युरोपेली संघ, द्वन्द्व दीर्घकालीन बन्ने प्रक्रियामा अप्रत्यक्ष रुपमा संलग्न भएको इङ्गित गरेको छ।
रुसी राष्ट्रपतिको भनाइमा, रुसले पछिल्ला महिनाहरूमा पटक–पटक युद्धविराम प्रस्ताव राखेको थियो। उनले भने, “हामीले घोषणा गरेको युद्धविराम अवधिमा समेत युक्रेनी सेनाले पाँच पटक हाम्रो सीमातर्फ आक्रमणको प्रयास गर्यो।” पुटिनले युक्रेनलाई असहयोगी व्यवहार देखाएको आरोप लगाए।
पुटिनको प्रस्ताव अनुसार, रुस वार्ता गर्न मे १५ मा इस्तानबुल पुग्न तयार छ। इस्तानबुललाई वार्ताको स्थानका रूपमा प्रस्ताव गर्नुको कारण यसअघि पनि टर्कीले सन् २०२२ मा वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको हो।
यो प्रस्तावले दुई देशबीचको द्वन्द्वको समाधानको दिशामा एक सम्भावित कूटनीतिक मोडको संकेत दिएको छ। तर यसमा युक्रेनी सरकारको प्रतिक्रिया अहिलेसम्म सार्वजनिक भएको छैन। यदि किभले यो प्रस्ताव सकारात्मक रुपमा लिन्छ भने, युद्धको चपेटामा परेका लाखौं नागरिकका लागि राहतको किरण बन्न सक्छ।
विगतमा जस्तै, आगामी वार्ता प्रयासमा पनि अन्तर्राष्ट्रिय समुदाय—विशेषतः संयुक्त राष्ट्रसंघ, टर्की, चीन र पश्चिमी शक्तिहरूको भूमिका निर्णायक हुनसक्छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा