सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नागरिकलाई स्वास्थ्यप्रति सचेत रहन र आफ्नो शरीरको हेरचाह गर्न विशेष आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नै स्वास्थ्य समस्याको अनुभव सुनाउँदै उनले मिर्गौला फेल हुनुको मुख्य कारण अत्यधिक पेन किलर सेवन रहेको खुलासा गरे।
कार्यक्रममा उनले भने, “मलाई क्षयरोग (टिबरक्लोसिस) भयो, त्यसपछि अल्सर भयो। पेटभरी घाउ भएर असह्य दुखाइ हुन्थ्यो, रगत आउँथ्यो। त्यसपछि पेन किलर खाइयो। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?”
प्रधानमन्त्री ओलीका अनुसार अल्सरको पीडाबाट राहत पाउन उनले नियमित रूपमा पेन किलर खाएका थिए। तर, दीर्घकालीन प्रयोगले मिर्गौलामा गम्भीर असर पुग्यो र अन्ततः मिर्गौला फेल भयो। उनले जनतालाई सचेत गराउँदै भने, औषधि उपयोगमा लापरबाही गर्नु हुँदैन, विशेष गरी चिकित्सकको सल्लाविनै औषधि सेवन गर्नु स्वास्थ्यका लागि खतरनाक हुन्छ।
प्रधानमन्त्री ओलीले विगतमा आफूले तागतिलो खाना र आवश्यक औषधिको अभावमा क्षयरोग र अल्सरको समयमा स्वास्थ्य झनै बिग्रिएको बताए। उनले औषधि पाउन मुस्किल पर्ने, उपचारमा ढिलाइ हुने र पोषण नपुग्दा दीर्घरोग गम्भीर बन्ने कुरा उल्लेख गरे।
“स्वास्थ्य गुमाएपछि बल्ल बुझिन्छ, खाना र औषधिको महत्त्व के हो।” – प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको हालसम्म दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ। पहिलो पटक २०७० सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि पनि उनी निरन्तर औषधि सेवन र स्वास्थ्य परीक्षणमा छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्देशले नेपालजस्तो विकासोन्मुख देशमा जनस्वास्थ्यप्रति सचेतना फैलाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ। उनले व्यक्तिगत अनुभवलाई साझा गर्दै औषधि सेवन, आहार–विहार, र उपचारको नियमितता स्वास्थ्यको मूल मर्म भएको स्पष्ट गरे।
उनले भने, “कुनै पनि रोग लुकाउनु हुँदैन। रोग लागिहाल्यो भने लाज नमानी उपचार गर्नुपर्छ। उपचारमा ढिलाइ गर्दा समस्या जटिल बन्छ।”
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा