सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता हुन सकेन।
१५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै देउवा र खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का तथा अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए। देउवा र खड्काले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका थिए।
तर सर्वोच्च प्रशासनले रिट निवेदनमाथि थप अध्ययन आवश्यक रहेको भन्दै तत्काल दर्ता नगरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्। उनका अनुसार सर्वोच्च प्रशासनले रिट पेस गर्नेहरूलाई सोमबार पुनः आउन भनेको छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। तर देउवा–खड्का पक्षले महाधिवेशनको तालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको दाबी गर्दै त्यसलाई रोक्न माग गरेको हो।
यसअघि पनि उक्त समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो। सो मुद्दामा सर्वोच्चले पुनः सुनुवाइ गर्ने आदेशसमेत गरिसकेको छ।
यसपटक पेस गरिएको रिटमा महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।
स्रोतका अनुसार शुक्रबार प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल सर्वोच्चमा उपस्थित नभएकाले पनि रिट दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा