सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर हटाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको डीएसपी सुनिलजंग शाह नेतृत्वको टोलीले सिंहदरबार पुगेर गृहमन्त्री र गृहसचिव प्रयोग गर्ने सरकारी सवारीसाधनको सिसामा लगाइएको कालो स्टिकर हटाएको हो।
यसअघि सोमबार गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नै सरकारी गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए। उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारी तथा निजी सबै सवारीमा अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा कालो सिसा हटाउने विशेष अभियान सञ्चालन गरिरहेको छ। प्रहरीका अनुसार अत्यधिक गाढा कालो सिसाका कारण सवारीभित्रको गतिविधि बाहिरबाट देख्न नसकिने भएकाले सुरक्षा चुनौती बढ्ने गरेको छ।
प्रहरीको दाबीअनुसार कालो सिसा प्रयोग भएका सवारीसाधनमार्फत लागूऔषध तथा अवैध हतियार ओसारपसार, सुन तस्करी, साथै अपराधमा संलग्न व्यक्तिहरू फरार हुने घटनामा समेत सहजता हुने गरेको पाइएको छ। त्यसैले यस्ता गतिविधि नियन्त्रणका लागि अभियानलाई कडाइका साथ अघि बढाइएको जनाएको छ।
**सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस वा अन्य संरचनात्मक परिवर्तन गर्न पाइँदैन। यही कानुनी व्यवस्थालाई आधार बनाएर ट्राफिक प्रहरीले अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा