सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन इच्छुक रहेको जनाउँदै त्यसका लागि आवश्यक सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेका छन्।
स्रोतका अनुसार देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै आउँदो साउन २८ गतेभित्र नेपाल फर्किने योजना रहेको जानकारी गराएका छन्। साथै स्वदेश फर्किएपछि कुनै प्रकारको अनावश्यक धरपकड वा असहज अवस्था सिर्जना नहोस् भन्ने विषयमा पनि चासो व्यक्त गरेको बताइएको छ।
देउवा दम्पती गत वर्ष भदौ २४ गते नवयुवा आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको प्रदर्शनका बेला घाइते भएका थिए। त्यसलगत्तै थप उपचारका लागि उनीहरू सिंगापुर गएका थिए। त्यसयता उनीहरू अधिकांश समय विदेशमै रहँदै आएको बताइन्छ।
उनीहरू नेपाल फर्किएपछि स्वास्थ्य उपचार, राजनीतिक गतिविधि तथा उनीहरूमाथि लागेका विभिन्न आरोप र अनुसन्धानका विषयले पुनः चर्चा पाउने सम्भावना देखिएको छ। पछिल्लो समय देशको राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै देउवा दम्पतीको स्वदेश फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग वा सरकारका तर्फबाट यस विषयमा औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। देउवा दम्पतीले पठाएको भनिएको पत्र तथा त्यसमा उल्लेख गरिएका मागबारे सम्बन्धित निकायले कुनै आधिकारिक पुष्टि गरेको छैन।
राजनीतिक वृत्तमा भने देउवा दम्पतीको सम्भावित स्वदेश फिर्तीलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिन थालेको छ। साउन २८ भित्र उनीहरू नेपाल फर्किने तयारीमा रहेको चर्चा भइरहेका बेला सरकारले यसबारे के निर्णय लिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा