सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
न्युयोर्क । मध्यपूर्वमा इजरायल र इरानबीच बढेको सैन्य तनाव केही मत्थर बन्दै गएको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। सम्भावित युद्धविराम र कूटनीतिक समझदारीप्रति लगानीकर्ताहरू आशावादी बनेसँगै ऊर्जा बजारमा सकारात्मक प्रभाव परेको हो।
मंगलबारको कारोबारमा विश्वव्यापी तेलको प्रमुख मापदण्ड ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर ४० सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी मापदण्ड वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि २.४१ प्रतिशतले घट्दै प्रतिब्यारेल ८९ डलर १० सेन्टमा कारोबार भएको छ।
विश्लेषकहरूका अनुसार हालै इजरायल र इरानबीच भएको मिसाइल आक्रमणपछि थप द्वन्द्व बढ्ने आशंका गरिएको थियो। तर पछिल्ला दिनमा दुवै पक्ष युद्धविरामतर्फ उन्मुख भएको तथा तनाव नियन्त्रणमा आएको समाचार सार्वजनिक भएपछि तेल बजारमा दबाब कम भएको हो।
ऊर्जा बजारमा सकारात्मक सन्देश प्रवाह हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई पनि महत्त्वपूर्ण मानिएको छ। ट्रम्पले अमेरिका र इरानबीच केही दिनभित्रै महत्वपूर्ण समझदारी वा सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनले सम्भावित सम्झौतापछि विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्।
स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो। विश्वभर आपूर्ति हुने कच्चा तेलको ठूलो हिस्सा यही समुद्री मार्ग हुँदै निर्यात हुने भएकाले यस क्षेत्रमा उत्पन्न हुने अस्थिरताले प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय तेल बजारलाई प्रभावित गर्ने गर्छ।
यद्यपि ऊर्जा क्षेत्रका विज्ञहरूले इरानसँग उक्त समुद्री मार्गमा प्रभाव पार्ने सामरिक क्षमता भविष्यमा पनि कायम रहने भएकाले बजार अझै पूर्ण रूपमा ढुक्क भइनसकेको बताएका छन्। त्यसैले मध्यपूर्वको सुरक्षा अवस्था आगामी दिनमा पनि तेल मूल्य निर्धारणको प्रमुख कारक बन्ने अनुमान गरिएको छ।
तेलको मूल्यमा आएको गिरावटसँगै एसियाली सेयर बजारमा पनि उत्साह देखिएको छ। सोमबार अधिकांश एसियाली बजारमा गिरावट देखिए पनि मंगलबार प्रमुख सूचकहरू बढेका छन्। युरोपका प्रमुख सेयर बजारहरू पनि हरियालीमा कारोबार भइरहेका छन् भने अमेरिकाका डाउ जोन्स, नास्डाक र एसएन्डपी ५०० सूचकाङ्कका फ्युचर्सहरूले बजार सकारात्मक रूपमा खुल्ने संकेत दिएका छन्।
अर्थशास्त्रीहरूका अनुसार यदि इजरायल–इरानबीचको तनाव थप कम हुँदै गएर स्थायी शान्तिको वातावरण बनेमा आगामी दिनमा तेलको मूल्यमा अझै दबाब पर्न सक्नेछ। त्यसको प्रत्यक्ष लाभ विश्व अर्थतन्त्र, यातायात क्षेत्र तथा ऊर्जा आयातमा निर्भर देशहरूले प्राप्त गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा