सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेले वडादेखि केन्द्रसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टीका महासचिव शंकर पोखरेलका अनुसार चैत २४ गतेदेखि विभिन्न तहका कमिटीमार्फत आन्दोलन अघि बढाइनेछ। तय कार्यक्रमअनुसार चैत २४ गते सबै जिल्ला कमिटीहरूले वृहत् कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौंमा केन्द्रीय विरोध प्रदर्शन एवं सभा आयोजना गरिनेछ।
सरकारले जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको हो।
एमालेले ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाउँदै तत्कालै आन्दोलन सुरु गर्ने निर्णय गरेको जनाएको छ। यसअघि बसेको सचिवालयको आकस्मिक बैठकले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको थियो।
सोहीअनुसार राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। आइतबार एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेर विरोधपत्र समेत बुझाएको थियो।
यसबीच आन्दोलनका क्रममा केही स्थानमा झडपसमेत भएको छ। शनिबार सिंहदरबार क्षेत्रमा भएको प्रदर्शनका क्रममा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका थिए भने केही प्रदर्शनकारी घाइते भएका थिए। त्यसैगरी आइतबार पनि नौ जना पक्राउ परेका छन् भने दुई जना घाइते भएका छन्।
एमालेले आन्दोलनलाई अझ सशक्त बनाउँदै सरकारमाथि दबाब सिर्जना गर्ने जनाएको छ भने सरकार पक्षबाट भने यस विषयमा थप प्रतिक्रिया आउन बाँकी रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा