सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि डा. पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए, जहाँ उनले गभर्नरको जिम्मेवारी सम्हाले।
पदभार ग्रहण समारोहमा बोल्दै गभर्नर पौडेलले देशको आर्थिक सुस्ततालाई हटाएर आर्थिक गतिविधि चलायमान बनाउन आफ्नो कार्यकाल केन्द्रित हुने बताएका छन्। उनले भने, “सरकारको आगामी बजेट नीति र प्राथमिकताका आधारमा मौद्रिक नीति तर्जुमा गरिनेछ। त्यसका लागि वित्त मन्त्रालयलगायत सरोकारवाला निकायहरूसँग घनिष्ठ समन्वय गरिनेछ।”
गभर्नर पौडेलले समग्र बैंकिङ प्रणालीको सुदृढीकरण, मुद्रास्फीति नियन्त्रण, लगानी प्रवर्द्धन र वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। “आर्थिक स्थायित्व कायम राख्न राष्ट्र बैंकको भूमिका अझ सशक्त बनाइनेछ,” उनले भने।
पदभार ग्रहणलगत्तै गभर्नर पौडेलले रु ५० र रु १,००० दरका नयाँ नोट छपाइ गर्ने निर्णय पनि गरेका छन्। यस निर्णयमार्फत बजारमा रहेका पुराना र क्षतिग्रस्त नोटको स्थानमा नयाँ तथा सुरक्षात्मक विशेषतायुक्त नोट ल्याउने तयारी भएको बताइएको छ।
यसबीच, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले हालै दिएको राजीनामाका सम्बन्धमा प्रतिक्रिया दिँदै गभर्नर पौडेलले उक्त विषयलाई आन्तरिक प्रशासनिक प्रक्रिया भएको बताएका छन्। उनले यसबारे विस्तृत धारणा सार्वजनिक नगर्ने संकेत दिए।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा