सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले भारत सरकार तथा भारतीय जनताको तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
गत भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सिंहले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सिंहले नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै भारत सधैं नेपालको ‘सुख–दुःखको साथी’ रहेको बताएका छन्।
उनले कठिन घडीमा भारत नेपालसँगै रहेको उल्लेख गर्दै खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
‘एक निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिएको छ। यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं,’ सिंहले भनेका छन्।
उनका अनुसार विपत्तिमा प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन भारत तयार छ।
बाढीबाट नेपालका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको अवस्थामा भारतीय रक्षामन्त्री सिंहको नेपाली दूतावास भ्रमण र समवेदनालाई दुई देशबीचको मित्रवत् सम्बन्ध तथा विपत्तिका समयमा हुने पारस्परिक सहयोगको निरन्तरताका रूपमा हेरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा