काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा आगामी जुलाई २४ र २५ मा ‘आई–यस २०२६ (I-YES 2026)’ अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ। फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा हुन लागेको सम्मेलनमा विश्वभरका नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता, बैंकिङ क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ तथा नवप्रवर्तकहरू एकै स्थानमा भेला हुनेछन्।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य युवा उद्यमशीलताको विकास, आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका, अन्तर्राष्ट्रिय सहकार्यको विस्तार तथा विश्वभर रहेका नेपाली उद्यमीबीच सशक्त व्यावसायिक सञ्जाल निर्माण गर्नु हो। सम्मेलनमा उद्यमशीलताका नयाँ सम्भावना, लगानी, नवप्रवर्तन र प्रविधिको प्रयोगबारे विस्तृत छलफल गरिनेछ।

सम्मेलनको उद्घाटन समारोहमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। उनले नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, नवप्रवर्तन, प्रवासी नेपालीको योगदान तथा विश्वव्यापी नेपाली व्यावसायिक सञ्जालको सम्भावनाबारे आफ्ना धारणा राख्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, Forbes 30 Under 30 US 2026 मा परेका युवा उद्यमी अजर राजभण्डारी, मानसिक स्वास्थ्यसम्बन्धी प्लेटफर्म Happy Minds की संस्थापक श्रेया गिरी, डेटा वैज्ञानिक तथा सूचना प्रविधि विज्ञ डा. भोजराज घिमिरे, युनिभर्सिटी अफ न्यू साउथ वेल्स (UNSW) का प्राध्यापक कृष्णकुमार श्रेष्ठ लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव, सफलताका कथा र व्यावसायिक दृष्टिकोण प्रस्तुत गर्नेछन्। साथै काजल नैना राई, सयना ढकाल, रञ्जु वाग्ले थापा, निकोलस अब्राहम, निशान्त शर्मा, मोती नाराल, निरज खनाल, ओम ढुंगेल, सविना सिलवाल, स्वेता पौडेल र सूचना पौडेललगायतको पनि सहभागिता रहनेछ।

सम्मेलनमा युवा उद्यमीहरूले सामना गरिरहेका चुनौती, तिनको व्यावहारिक समाधान, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ, नवीन प्रविधि तथा भविष्यको व्यवसायिक वातावरणका विषयमा सामूहिक छलफल र अन्तरक्रिया हुनेछन्। आफ्नै व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि अनुभवी उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्ने, नयाँ सोच विकास गर्ने र अन्तर्राष्ट्रिय अवसरबारे जानकारी हासिल गर्ने अवसर पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।

FINYE अष्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसेका अनुसार सम्मेलनले विश्वभर रहेका नेपाली उद्यमीबीच सहकार्य र ज्ञान आदान–प्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। सम्मेलनले नेपाली युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्नुका साथै विश्व बजारमा नेपाली प्रतिभा, उत्पादन र सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, FINYE अष्ट्रेलियाका महासचिव कमल सिलवालले सम्मेलनमा चार सयभन्दा बढी उद्यमी तथा उद्यमशीलतामा रुचि राख्ने युवाको सहभागिता रहने जानकारी दिए। उनका अनुसार यस सम्मेलनले नेपाल र प्रवासी नेपाली समुदायबीच व्यापार, लगानी, प्रविधि, ज्ञान हस्तान्तरण तथा व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।