सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणले नयाँ कानुनी मोड लिएको छ। मृतकका परिवारले काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएका छन्।
प्राप्त जानकारीअनुसार मृतकका आफन्त सोमबार बिहानै प्रहरी वृत्त कालिमाटी पुगेका थिए। उनीहरूले कानुन व्यवसायीसँग परामर्श गर्दै कुन कानुनी प्रावधानअन्तर्गत कसलाई प्रतिवादी बनाउने भन्ने विषयमा छलफल गरेका थिए। त्यसपछि ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गर्ने उद्देश्यले आवश्यक कागजात तयार पारिएको स्रोतले जनाएको छ। यद्यपि समाचार तयार पार्दासम्म जाहेरी औपचारिक रूपमा दर्ता भइसकेको छैन।
प्रहरी वृत्त कालिमाटीका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा प्रारम्भिक अनुसन्धान, पोस्टमार्टम, शव परीक्षण प्रतिवेदन तथा अन्य प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने व्यवस्था छ। अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक परे सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा दर्ता गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यो घटना गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेट अगाडि भएको थियो। विभाग परिसर बाहिर पार्किङ गरिएको गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद सुरु भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ह्वील लक हटाउने विषयमा नगर प्रहरी र गणेशबीच भनाभन भएको थियो। विवाद चर्किंदै गएपछि गणेशले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याएका थिए र त्यसपछि आगो लगाएका थिए।
घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। शरीरको ठूलो भाग जलेका कारण उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाले देशभर व्यापक चर्चा पाएको थियो भने सामाजिक सञ्जालदेखि राजनीतिक तथा नागरिक तहसम्म महानगरको कार्यशैलीबारे प्रश्न उठेको थियो।
घटनापछि मृतकका परिवार, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच लगातार छलफल भएको थियो। आइतबार दुवै पक्षबीच नौबुँदे सहमति भएपछि शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको थियो।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले पेश गर्ने प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णय लिइने उल्लेख गरिएको छ। साथै घटनामा संलग्न रहेका नगर प्रहरीलाई छानबिन सम्पन्न नभएसम्म निलम्बन गरिने सहमति भएको छ।
त्यसैगरी, मृतक गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया प्रतिवेदनका आधारमा अघि बढाइने, उनकी श्रीमतीलाई उपयुक्त रोजगारीको व्यवस्था मिलाइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने, परिवारलाई राहत उपलब्ध गराइने, स्वास्थ्य बिमाको व्यवस्था गरिने तथा अन्त्येष्टि खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ।
यस घटनाले सार्वजनिक निकायको सेवा प्रवाह, नगर प्रहरीको कार्यशैली, नागरिकसँग गरिने व्यवहार तथा सार्वजनिक स्थानमा कानून कार्यान्वयनका क्रममा अपनाइने विधि र संवेदनशीलतामाथि गम्भीर बहस सिर्जना गरेको छ। अब परिवारले दर्ता गर्न लागेको ज्यानसम्बन्धी कसुरको जाहेरीपछि घटनाको अनुसन्धान थप गहिरिने अपेक्षा गरिएको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कसैको लापरवाही वा कानुनी जिम्मेवारी पुष्टि भए सम्बन्धित पक्षमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा