सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसले पूर्वऊर्जामन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपक खड्कासहित तीन जनासँग स्पष्टीकरण मागेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको, अन्तर्घातमा संलग्न भएको तथा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूसँग लिखित जवाफ मागेको हो।
अनुशासन समितिले खड्कासँगै संखुवासभा जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई पनि स्पष्टीकरण सोधेको छ। समितिले उनीहरूलाई पत्राचार गर्दै पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको जनाएको छ।
पार्टी स्रोतका अनुसार दीपक खड्कामाथि निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरी अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको आरोप लगाइएको छ। त्यस्तै, पार्टीकै उम्मेदवारलाई पराजित गराउने उद्देश्यले गतिविधि सञ्चालन गरेको आरोप पनि उनीमाथि छ।
नेपाली कांग्रेसका कार्यालय सचिव दिनेश थापामगरका अनुसार खड्काले फागुन ११ गते आयोजित घरदैलो कार्यक्रमका क्रममा ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दिनँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि उनीविरुद्ध पार्टीमा औपचारिक उजुरीसमेत परेको थियो।
अनुशासन समितिमा परेको उजुरीमा खड्काले आफ्ना निकटस्थ कार्यकर्ता तथा समर्थकहरूलाई पार्टीका कार्यक्रममा सहभागी नहुन दबाब दिएको, बाहिरी रूपमा कांग्रेस उम्मेदवारका लागि मत मागेजस्तो देखिए पनि आन्तरिक रूपमा अन्य चुनाव चिह्नमा मतदान गर्न प्रेरित गरेको आरोप उल्लेख गरिएको छ।
यस्तै, जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखामाथि पनि खड्काको निर्देशनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ। लिंखामाथि इमानदार कार्यकर्ताहरूलाई ‘तेरो भोट चाहिँदैन’ भन्दै धम्क्याएको आरोपसमेत लगाइएको छ।
केन्द्रीय अनुशासन समितिले जेठ २० गते नै उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकेको जनाएको छ। निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए नेपाली कांग्रेसको विधान तथा अनुशासनसम्बन्धी व्यवस्थाअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि पत्रमा उल्लेख गरिएको छ।
पार्टीभित्र अनुशासन कायम राख्ने र निर्वाचनका क्रममा भएका गतिविधिको समीक्षा गर्ने क्रममा यो कदम चालिएको कांग्रेसको भनाइ छ। आगामी दिनमा पनि पार्टी हितविपरीत गतिविधिमा संलग्न हुने जो–कोहीमाथि आवश्यक कारबाही गरिने संकेत कांग्रेस नेतृत्वले दिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा