सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २० ,काठमाडौं – चीनको तीव्र विरोधबीच धार्मिक नेता दलाई लामाले शनिबारदेखि उत्तरपूर्वी भारतको १२ दिने यात्रा शुरु गरेका छन् । लामालाई अरुणाचल लगायत भारतका उत्तरपूर्वी राज्यहरूको भ्रमण गर्ने अनुमति दिए भारत–चीन सम्बन्ध बिग्रने चीनको चेतावनीका बीच लामाको भ्रमण शुरु भएको हो । चीनले लामाको भ्रमण रोक्न भारतलाई पटक पटक आग्रह गर्दै आएको थियो । दलाई लामाले शनिबार उत्तरपूर्वी राज्य असममा आयोजित ‘विश्व शान्तिप्रति मानवीय दृष्टिकोण’ नामक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
सम्बोधनमा उनले आफू सन् १९५९ मा तिब्बतबाट भागेर भारतको अरुणाचलस्थित कमेङ्मा आउँदा भारतीय अधिकारीहरूले स्वागत गरेको क्षण स्मरण गरे । शुरुमा म सन् १९५६ मा धार्मिक कार्यक्रममा भाग लिन आएँ । त्यसपछि सन् १९५९ मा शरण लिन आइपुगेँ । म लामो समय भारत सरकारको पाहुना बनेर बस्दै आएको छु’, उनले भने । असमको उग्रवादी संगठन ‘युनाइटेड लिबरेसन फ्रन्ट अफ असम’ (उल्फा)ले दलाई लामाको भ्रमणको विरोध गरेको हुनाले कडा सुरक्षा व्यवस्था गरिएको थियो । उल्फाले चीनको विरोधमा नबोल्न दलाई लामालाई चेतावनी दिँदै आएको छ ।
आइतबार लामाले गुहावटी विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । सोमबार उनी तवाङ जानेछन् । त्यहाँ उनी अप्रिल ७ तारिखसम्म रहनेछन् । यो भूभाग चीन र भारतको सीमाबाट २५ किलोमिटर दूरीमा छ । त्यसैले चीन निकै चिन्तित देखिएको हो । सीमा क्षेत्रमै आएर ‘पृथकतावादी समूह’का नेता लामाले चीन र भारतबीचको विवादित भूभाग अरुणाचलको भ्रमण गर्न लागेको भन्दै चीनले तीव्र आपत्ति प्रकट गरेको हो । अरुणाचललाई चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतको दक्षिणी भाग मान्दै आएको छ । सन् १९६२ मा चीन र भारतबीच युद्ध भएयता यो भूभाग भारतको नियन्त्रणमा छ । शनिबार दलाई लामालाई उनको अरुणाचल यात्राबाट चीन रिसाएको भन्ने जिज्ञासामा उनले मुस्कुराउँदै भने, ‘यो सबै सामान्य कुरा हो ।’
दलाई लामालाई मंगलबारदेखि ९ दिन अरुणाचलको भ्रमण गर्नका लागि भारत सरकारले अनुमति दिएको छ । भारतले उनको भ्रमण विशुद्ध धार्मिक रहेको तर्क गरेको छ । भारतको यस्तो भनाइप्रति चीन सहमत छैन । बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ली कङले १४ औं दलाई लामाको भ्रमण भए चीन र भारतबीच देखिएको सीमाविवाद अझ बल्झने र द्विपक्षीय सम्बन्ध बिग्रने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘हामी दलाई लामाको अरुणाचल यात्राबाट निकै चिन्तित छौं । यो विषयमा चीन स्पष्ट र अडिग छ ।’ चीनले आफ्नो छिमेकी देशबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा चीनविरोधी गतिविधिलाई रोक्नुपर्ने बताउँदै आएको छ ।
चीन विरोधी तथा पृथकतावादी गतिविधिमा लागेका लामाको भ्रमणले सीमा क्षेत्रको स्थिरता र शान्तिमै असर पर्ने भन्दै चीनले उनको भ्रमणको विरोध गरेको छ । दलाई लामाको भ्रमण एक चीन नीतिविरुद्ध रहेको चीनको भनाइ छ । चीनले भारतले विगतमा तिब्बत मुद्दामा गरेको प्रतिबद्धता र सीमा विवादबारे दुई देशबीचको सहमतिको पालना गर्न भारतलाई आग्रह गरेको छ । दलाई लामाको अरुणाचल यात्रामा भारतले यसो गर्नुपर्छ भनेर चीनले भारतको आन्तरिक मामिलामा दखल दिन नहुने भारतीय गृह राज्यमन्त्री किरन रिजिजुले चतावनी दिएका छन् । उनले भने, ‘हामी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, चीनले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर भन्न हुँदैन ।’ अन्नपूर्णपोस्टबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा