सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २० ,काठमाडौं – चीनको तीव्र विरोधबीच धार्मिक नेता दलाई लामाले शनिबारदेखि उत्तरपूर्वी भारतको १२ दिने यात्रा शुरु गरेका छन् । लामालाई अरुणाचल लगायत भारतका उत्तरपूर्वी राज्यहरूको भ्रमण गर्ने अनुमति दिए भारत–चीन सम्बन्ध बिग्रने चीनको चेतावनीका बीच लामाको भ्रमण शुरु भएको हो । चीनले लामाको भ्रमण रोक्न भारतलाई पटक पटक आग्रह गर्दै आएको थियो । दलाई लामाले शनिबार उत्तरपूर्वी राज्य असममा आयोजित ‘विश्व शान्तिप्रति मानवीय दृष्टिकोण’ नामक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
सम्बोधनमा उनले आफू सन् १९५९ मा तिब्बतबाट भागेर भारतको अरुणाचलस्थित कमेङ्मा आउँदा भारतीय अधिकारीहरूले स्वागत गरेको क्षण स्मरण गरे । शुरुमा म सन् १९५६ मा धार्मिक कार्यक्रममा भाग लिन आएँ । त्यसपछि सन् १९५९ मा शरण लिन आइपुगेँ । म लामो समय भारत सरकारको पाहुना बनेर बस्दै आएको छु’, उनले भने । असमको उग्रवादी संगठन ‘युनाइटेड लिबरेसन फ्रन्ट अफ असम’ (उल्फा)ले दलाई लामाको भ्रमणको विरोध गरेको हुनाले कडा सुरक्षा व्यवस्था गरिएको थियो । उल्फाले चीनको विरोधमा नबोल्न दलाई लामालाई चेतावनी दिँदै आएको छ ।
आइतबार लामाले गुहावटी विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । सोमबार उनी तवाङ जानेछन् । त्यहाँ उनी अप्रिल ७ तारिखसम्म रहनेछन् । यो भूभाग चीन र भारतको सीमाबाट २५ किलोमिटर दूरीमा छ । त्यसैले चीन निकै चिन्तित देखिएको हो । सीमा क्षेत्रमै आएर ‘पृथकतावादी समूह’का नेता लामाले चीन र भारतबीचको विवादित भूभाग अरुणाचलको भ्रमण गर्न लागेको भन्दै चीनले तीव्र आपत्ति प्रकट गरेको हो । अरुणाचललाई चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतको दक्षिणी भाग मान्दै आएको छ । सन् १९६२ मा चीन र भारतबीच युद्ध भएयता यो भूभाग भारतको नियन्त्रणमा छ । शनिबार दलाई लामालाई उनको अरुणाचल यात्राबाट चीन रिसाएको भन्ने जिज्ञासामा उनले मुस्कुराउँदै भने, ‘यो सबै सामान्य कुरा हो ।’
दलाई लामालाई मंगलबारदेखि ९ दिन अरुणाचलको भ्रमण गर्नका लागि भारत सरकारले अनुमति दिएको छ । भारतले उनको भ्रमण विशुद्ध धार्मिक रहेको तर्क गरेको छ । भारतको यस्तो भनाइप्रति चीन सहमत छैन । बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ली कङले १४ औं दलाई लामाको भ्रमण भए चीन र भारतबीच देखिएको सीमाविवाद अझ बल्झने र द्विपक्षीय सम्बन्ध बिग्रने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘हामी दलाई लामाको अरुणाचल यात्राबाट निकै चिन्तित छौं । यो विषयमा चीन स्पष्ट र अडिग छ ।’ चीनले आफ्नो छिमेकी देशबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा चीनविरोधी गतिविधिलाई रोक्नुपर्ने बताउँदै आएको छ ।
चीन विरोधी तथा पृथकतावादी गतिविधिमा लागेका लामाको भ्रमणले सीमा क्षेत्रको स्थिरता र शान्तिमै असर पर्ने भन्दै चीनले उनको भ्रमणको विरोध गरेको छ । दलाई लामाको भ्रमण एक चीन नीतिविरुद्ध रहेको चीनको भनाइ छ । चीनले भारतले विगतमा तिब्बत मुद्दामा गरेको प्रतिबद्धता र सीमा विवादबारे दुई देशबीचको सहमतिको पालना गर्न भारतलाई आग्रह गरेको छ । दलाई लामाको अरुणाचल यात्रामा भारतले यसो गर्नुपर्छ भनेर चीनले भारतको आन्तरिक मामिलामा दखल दिन नहुने भारतीय गृह राज्यमन्त्री किरन रिजिजुले चतावनी दिएका छन् । उनले भने, ‘हामी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, चीनले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर भन्न हुँदैन ।’ अन्नपूर्णपोस्टबाट
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा