सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः प्रतिस्पर्धात्मक फुटबलमा फर्किएका छन् । व्यावसायिक फुटबलबाट टाढिएको ११ वर्षपछि उनी इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाबाट मैदानमा उत्रिएका हुन् ।
आइतबार (नोभेम्बर १५) इटालीको सेरी सी अन्तर्गत स्थानीय प्रतिद्वन्द्वी फोर्लीविरुद्ध भएको खेलमा रोनाल्डिन्होले राभेन्नाको सुरुआती टोलीबाट खेल्दै पुनरागमन गरेका हुन् । उक्त खेलमा राभेन्नाले फोर्लीलाई २–० गोलले पराजित गरेको थियो ।
खेलमा रोनाल्डिन्होले पहिलो हाफ अर्थात् ४५ मिनेट मैदानमा बिताए । उनले राभेन्नाको पहिलो गोल निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेले । खेलको ३६औँ मिनेटमा रोनाल्डिन्होले विपक्षी खेलाडीलाई छलाउँदै बल अघि बढाएर लियोनार्डो लोनार्डीलाई पास दिएका थिए । लोनार्डीको सहयोगमा ज्युलियो डोनाटीले उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिएपछि रोनाल्डिन्होलाई प्रतिस्थापन गरिएको थियो । मैदानबाट बाहिरिने क्रममा समर्थकहरूले उनलाई उभिएर ताली बजाउँदै भव्य स्वागत गरेका थिए । उनको पुनरागमन हेर्न स्टेडियो ब्रुनो बेनेलीमा करिब सात हजार दर्शक उपस्थित थिए ।
दोस्रो हाफमा सिमोन रब्बीले अर्को गोल थपेपछि राभेन्नाले २–० को जित सुनिश्चित गरेको थियो ।
रोनाल्डिन्होले सन् २०१५ सेप्टेम्बर २६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट अन्तिम प्रतिस्पर्धात्मक खेल खेलेका थिए । त्यसपछि उनी व्यावसायिक फुटबलबाट टाढिएका थिए । उनले सन् २०१८ मा औपचारिक रूपमा फुटबलबाट सन्यास घोषणा गरेका थिए ।
यस वर्षको जुनमा इटालीको क्लब राभेन्नासँग आबद्ध भएपछि उनको पुनरागमनको चर्चा सुरु भएको थियो । क्लबका अध्यक्ष इग्नाजियो सिप्रियानीसँगको व्यक्तिगत सम्बन्ध र क्लबको भविष्यको योजनामा सहकार्य गर्ने उद्देश्यले उनी राभेन्नासँग जोडिएका हुन् । उनी क्लबका लगानीकर्तासमेत बनेका छन् ।
खेलपछि प्रतिक्रिया दिँदै रोनाल्डिन्होले लामो समयपछि फेरि मैदानमा फर्किन पाउँदा खुसी लागेको बताएका थिए । उनले आफूलाई खेलका लागि समय निकै छोटो लागेको र क्लब अध्यक्षले फेरि बोलाए आफू पुनः मैदानमा उत्रिन तयार रहेको संकेत गरेका छन् ।
विश्व फुटबलमा आफ्नो जादुमयी ड्रिब्लिङ, उत्कृष्ट पास, आकर्षक फ्रि-किक र मुस्कानसहितको खेलशैलीका कारण छुट्टै पहिचान बनाएका रोनाल्डिन्होको पुनरागमनले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ ।
सन् २००२ मा ब्राजिललाई फिफा विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनले सन् २००५ मा प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका थिए । बार्सिलोनाबाट खेल्दा उनले दुईपटक स्पेनिस ला लिगा र सन् २००६ मा युइएफए च्याम्पियन्स लिगको उपाधिसमेत जितेका थिए ।
बार्सिलोना र एसी मिलानजस्ता प्रतिष्ठित क्लबबाट खेलेका रोनाल्डिन्होको पुनरागमनलाई फुटबल इतिहासका चर्चित खेलाडीमध्ये एकको विशेष क्षणका रूपमा हेरिएको छ । ४६ वर्षको उमेरमा पनि फुटबलप्रतिको आफ्नो आकर्षण कायम रहेको सन्देश उनले मैदानमा फर्किएर दिएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा