सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा–नौबिसे सुरुङमार्गसँग जोडिएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयलाई लिएर टिप्पणी गर्दै इतिहास मेटाउने प्रवृत्तिले अन्ततः सबैलाई असर गर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले विगतमा राजतन्त्रकालमा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान, राजमार्ग तथा अन्य ऐतिहासिक चिन्हहरूको नाम परिवर्तन गर्नेहरू अहिले आफ्नै नाम वा योगदान हटाइएको विषयमा दुःख मान्न नहुने उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, “नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन। हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए।”
शाहीले कुनै पनि राजनीतिक शक्ति वा सरकारले आफ्नो विचारअनुसार इतिहासलाई फेरबदल गर्ने प्रयास गर्नु गलत परम्परा भएको टिप्पणी गरेका छन्। उनका अनुसार इतिहासलाई मेटाउने होइन, संरक्षण र सम्मान गर्नुपर्छ।
आफ्नो भनाइलाई पुष्टि गर्न उनले एक पुरानो नैतिक कथासमेत उद्धृत गरेका छन्। कथामा एक व्यक्तिले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदा उनका सानो छोराले “बुबा, त्यो डोकोचाहिँ नफाल्नुहोस्, पछि तपाईं बूढो भएपछि तपाईंलाई फाल्न पनि यही डोको काम लाग्छ,” भनेको प्रसंग उल्लेख गर्दै शाहीले अहिलेको अवस्था त्यही कथासँग मिल्दोजुल्दो भएको बताएका छन्।
उनले इतिहास मेटाउने संस्कारले भविष्यमा त्यही कार्य गर्नेहरूलाई पनि असर गर्ने चेतावनी दिँदै लेखेका छन्, “इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ।”
नागढुंगा सुरुङमार्गसँग सम्बन्धित अभिलेखको विषय पछिल्ला दिनमा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा बनेको छ। यद्यपि, सुरुङमार्ग आयोजना कार्यालयले भने केपी शर्मा ओलीको नाम रहेको शिलालेख हटाइएको नभई निर्माणका क्रममा सुरक्षित राख्नका लागि स्थानान्तरण गरिएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा