सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले लोकतान्त्रिक मुलुकमा राज्यको भूमिका नागरिकको सुरक्षा, अधिकार र समस्याको समाधान गर्ने हुनुपर्ने उल्लेख गरेका छन्। राज्य स्वयंले नागरिकलाई त्रसित बनाउने वा अनावश्यक दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न हुनु स्वीकार्य नहुने उनको भनाइ छ।
‘यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै झाले यस्ता गतिविधिले सुशासन र जिम्मेवार शासनको सन्देश नदिने टिप्पणी गरेका छन्। उनले सरकारको पछिल्लो व्यवहारलाई ‘बचपना’को संज्ञा दिँदै यस्तो शैलीबाट मुलुक सञ्चालन हुन नसक्ने बताएका छन्।
‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजीको सहादत भएको हो?’ भन्दै उनले सरकारलाई प्रश्न गरेका छन्।
झाले कुनै पनि राजनीतिक मतभेद वा विरोधका बीच राज्य संयमित, कानुनसम्मत र जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। लोकतान्त्रिक मूल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै राज्यका निकायले कानुनी प्रक्रिया र संस्थागत मर्यादाभित्र रहेर काम गर्नुपर्ने उनको जोड छ।
उनले अन्त्यमा सञ्चारमाध्यम, नागरिक र सार्वजनिक संस्थामाथि प्रभाव पार्ने वा त्रास सिर्जना गर्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनाप्रति आफूले घोर आपत्ति जनाएको बताएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा