जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा ः आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले बुधबार रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल–भारत सम्बन्धका विषयमा निर्धारित धारणा राख्नुभन्दा पहिले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा उनले उपस्थित सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गर्दै बुधबारको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलाधार क्षेत्रमा बस्ती, जलविद्युत् आयोजना, सडक तथा पुललगायतका संरचनामा क्षति पुर्याएको र धेरै मानिसको ज्यान गएको बताए ।
‘अहिले म क्षतिको यकिन संख्या बताउन सक्ने अवस्थामा छैन । तथ्यांक संकलन पूरा भएको छैन,’ लामिछानेले भने, ‘सरकारले हरेक मोर्चाबाट काम गरिरहेको छ । सुरक्षा निकायमार्फत खोज तथा उद्धार भइरहेको छ भने प्रभावित जिल्लामा राहत पुर्याउने काम जारी छ ।’
उनले कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुटेका स्थानीय समुदायप्रति आभार व्यक्त गरे । विपद्का बेला बाह्य सहयोग पुग्नुअघि नै स्थानीय समुदाय पहिलो उद्धारकर्ताका रूपमा परिचालित हुने गरेको उनले उल्लेख गरे ।
लामिछानेले विपद्को समयमा नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुधबार साँझ टेलिफोन गरी समवेदना व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे ।





