सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ११ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्वप्रति खुला असन्तुष्टि व्यक्त गरेकी छन्। फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले आफूलाई महाधिवेशनमा सहभागी हुन नदिइएको दाबी गरेकी हुन्।
भण्डारीले फुलकोटमा लेखेकी छन् कि उनले दुई वर्षअघि नै विधानअनुसार पार्टी सदस्यता नवीकरण गरिसकेकी थिइन्। तर नेतृत्वले “अनुचित तरिकाले” आफ्नो सदस्यता रोकिदिएको बताउँदै उनले यसप्रति गम्भीर असन्तुष्टि प्रकट गरिन्।
उनले लेखेकी छन्, “मैले दुई वर्षअघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति जनाउनबाट वञ्चित भएकी छु।”
पूर्वराष्ट्रपति भए पनि उनी अझै एमाले परिवारको “अभिन्न सदस्य” भएको उल्लेख गर्दै भण्डारीले महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसक्ने परिस्थितिलाई खेदजनक बताइन्।
महाधिवेशनलाई पार्टीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडको रूपमा वर्णन गर्दै उनले पार्टीभित्र वैचारिक, राजनीतिक परिपक्वता र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह समेत गरिन्।
उनले फेसबुक सन्देशमार्फत ११औँ महाधिवेशनमा सहभागी हुने सबै अग्रगामी, राष्ट्रवादी तथा प्रगतिशील कार्यकर्ताहरूलाई शुभकामना दिएकी छन्।
भण्डारीले लेखेकी छन्, “सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु।”
यसैबीच, एमालेले मंसिर २७, २८ र २९ गते हुने ११औँ महाधिवेशनको तयारी तिव्र पारेको छ।
उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिनेछ।
देशभरका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा जुटिरहेका छन्।
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीको यस्तो सार्वजनिक टिप्पणीले पार्टीभित्र तरंग पैदा गरेको छ।
उनको सदस्यता नवीकरण रोकिएको विषयमा एमाले नेतृत्वले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा