सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडिरहेको श्री एयरलाइन्सको एउटा विमानमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
उडान नम्बर SHA 227 रहेको विमानले आइतबार अपराह्न करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो। उडान सुरु भएको केही समयपछि विमानको ककपिट क्षेत्रमा अचानक धुवाँ देखिएपछि चालक दल सतर्क बनेको थियो।
चालक दलले तत्काल आपतकालीन सुरक्षा प्रक्रिया लागू गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर विमानलाई सुरक्षित रूपमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो।
विमानस्थल स्रोतका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ। जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् र कुनै मानवीय क्षति भएको छैन।
घटनापछि प्राविधिक टोलीले विमानको विस्तृत परीक्षण सुरु गरेको छ। ककपिटमा धुवाँ देखिनुको वास्तविक कारण खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान भइरहेको जनाइएको छ।
यात्रुहरूको यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले श्री एयरलाइन्सले वैकल्पिक विमान भैरहवा पठाइसकेको छ। विमानस्थल प्रशासनका अनुसार रोकिएका यात्रुलाई सोही विमानमार्फत धनगढीतर्फ पठाउने तयारी गरिएको छ।
प्रारम्भिक रूपमा घटना प्राविधिक समस्यासँग सम्बन्धित देखिए पनि यसको वास्तविक कारण प्राविधिक परीक्षण र अनुसन्धानपछि मात्रै स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा