सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विभिन्न राजनीतिक नेताहरूको निकट पहुँच राख्ने ‘विचौलिया’का रूपमा चिनिएका व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
बिहीबार दिउँसो सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि सीआईबी कार्यालय लगिएको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। यसअघि नै उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन सुरु गरेको थियो भने उनलाई देशबाहिर जान नपाउने गरी निगरानी सूचीमा समेत राखिएको थियो ।
भट्ट ‘इन्फिनिटी होल्डिङ्स’ नामक व्यवसायिक समूहसँग आबद्ध रहेको र ऊर्जा, रियल स्टेट, सरकारी ठेक्का लगायत विभिन्न क्षेत्रमा संलग्न रहेको बताइन्छ। उनीमाथि राजनीतिक पहुँच प्रयोग गरेर सार्वजनिक खरिद, जलविद्युत् लाइसेन्स, कर नीतिमा प्रभाव पार्ने लगायत गतिविधिमा संलग्न भएको आरोप लाग्दै आएको छ ।
अनुसन्धान निकायका प्रारम्भिक निष्कर्षअनुसार भट्टको संलग्नता सम्पत्ति शुद्धीकरण, राजस्व छलि, बैंक तथा बीमा क्षेत्रसँग सम्बन्धित अनियमितता लगायतमा देखिएको बताइएको छ ।
दीपक भट्टलाई लामो समयदेखि ‘पावर ब्रोकर’का रूपमा चिनिँदै आएको थियो। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा उच्च तहका कर्मचारीहरूसँग उनको पहुँच रहेको चर्चा हुँदै आएको थियो। यही कारण उनी सार्वजनिक नीति, ठेक्का प्रक्रिया तथा सरकारी निर्णयहरूमा प्रभाव पार्ने व्यक्तिका रूपमा आलोचनाको केन्द्रमा समेत रहेका थिए।
हाल सीआईबीले भट्टमाथि विस्तृत आर्थिक तथा सम्पत्ति स्रोतको अनुसन्धान अघि बढाएको छ। अनुसन्धानपछि मुद्दा दर्ता गर्ने वा थप कारबाही गर्नेबारे निर्णय हुने जनाइएको छ।
यस घटनालाई पछिल्लो समय उच्च तहमा भइरहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको निरन्तरताका रूपमा हेरिएको छ। यसअघि पनि उच्च राजनीतिक तथा व्यावसायिक व्यक्तिहरूमाथि यस्तै प्रकृतिका अनुसन्धानहरू अघि बढिरहेका छन्।
भट्ट पक्राउ परेसँगै राजनीतिक पहुँच, बिचौलिया प्रणाली र आर्थिक पारदर्शितासम्बन्धी बहस पुनः चर्किने देखिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा