सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, जेठ ५ । नेपाली महिला राष्ट्रिय फुटबल टिम र नेपाल एपीएफ क्लबकी चर्चित स्ट्राइकर, सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानमा लमजुङमा एक विशेष स्मृति स्तम्भ र चोकको नामाकरण गरिएको छ। लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोक अबदेखि ‘साम्बा चोक’ को नामले चिनिने भएको छ।
साम्बा चोकमा निर्माण गरिएको स्मृति स्तम्भको उद्घाटन मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शुक्रबार (जेठ ५ गते) एक विशेष समारोहबीच गरेका हुन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, वडा नं. ९ का वडा अध्यक्ष हरिसचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मी, खेलकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
सावित्रा भण्डारी हाल फ्रान्सको शीर्ष डिभिजन क्लब ‘एना भान गेङगाङ्प’ (En Avant Guingamp) मा आबद्ध रहेकी छिन्। उनले नेपाली महिला फुटबलको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाइसकेकी छन्। राष्ट्रिय टोलीका लागि उनले ५० भन्दा बढी गोल गरिसकेकी छन्, जसले उनलाई ‘गोल मेसिन’ उपनाम दिलाएको छ। नेपाल एपीएफ क्लबबाट खेलेर सुरुवात गरेकी साम्बा पछिल्ला वर्षहरूमा बंगलादेश, भारत हुँदै युरोपसम्म पुग्न सफल भएकी हुन्।
उद्घाटन कार्यक्रममा सावित्रा भण्डारीका बुवा–आमालाई समेत विशेष सम्मान गरिएको थियो। साम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाले यो स्तम्भ निर्माण गरेको हो।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले समारोहमा बोल्दै सावित्राको सफलतालाई लमजुङको गौरवका रूपमा व्याख्या गरे। उनले भने, “साम्बाले देशको नाम विश्वभर चिनाएकी छन्। उनको सम्मानमा स्थापना गरिएको चोक र स्तम्भले आगामी पुस्तालाई खेलकुदमा लाग्न थप प्रेरणा मिल्नेछ।”
स्थानीय तहले साम्बा चोकलाई भावी दिनमा एक पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने योजना समेत अगाडि सारेको छ। चोकमा फोटो ग्यालरी, डिजिटल जानकारी केन्द्र, र फुटबल विकास केन्द्रको अवधारणा समेत अघि सारिएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा