सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजतन्त्र पुनर्स्थापनाको मागसहितको आन्दोलनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
अदालतका अनुसार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनीहरूलाई अनुसन्धानका लागि हिरासत अवधि थप गर्ने आदेश दिएको हो। उनका अनुसार आइतबारको सुनुवाइमा बहस भने भएको थिएन, केवल म्याद थप मात्रै गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राज्यविरुद्धको कसुर र संगठित अपराधमा संलग्न रहेको आरोप छ। कानुनअनुसार, संगठित अपराधको अभियोगमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने अधिकार राख्छ। प्रहरीले त्यसै अनुरूप अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ।
यसैबीच, आन्दोलनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो। मिश्रले आफूलाई बयान र अनुसन्धान सम्पन्न भएपनि अनावश्यक रुपमा हिरासतमा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले प्रहरीलाई मिश्रलाई तुरुन्त हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो। प्रारम्भमा शान्तिपूर्ण देखिएको आन्दोलन हिंसात्मक बन्न पुगेपछि दुईजनाको ज्यान गएको थियो भने केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।
सरकारले सो आन्दोलनलाई कानुनविपरीत, हिंसात्मक र राज्यविरुद्धको गतिविधिको रूपमा व्याख्या गर्दै व्यापक रुपमा कडाइ गरेको थियो। आन्दोलनपछिको प्रहरीले चलाएको कारबाहीमा प्रसाईंसहित उनका सहयोगीहरू र अन्य प्रदर्शनकारीहरू पक्राउ परेका थिए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा