सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा हासिल गरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामालाई पार्टी सुधार, जवाफदेहिता र पुनर्जागरणको सुरुवातका रूपमा व्याख्या गरेका छन्।
निर्वाचनको डेढ महिनाअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थापा छोटो समयमै पार्टीलाई चुनावमा नेतृत्व गर्दै मैदानमा उत्रिएका थिए। तर, उक्त निर्वाचनमा पार्टीका शीर्ष नेताहरू—स्वयं थापा सहित—पराजित भएपछि नेतृत्वमाथि नैतिक दबाब बढ्दै गएको थियो।
सर्लाही–४ बाट काठमाडौं फर्किएलगत्तै राजीनामा दिने तयारीमा रहेका थापाले तत्काल निर्णय भने नगरेका थिए। पार्टीभित्र चुनावी समीक्षा, संगठनात्मक मूल्यांकन तथा आन्तरिक छलफलका केही कार्य बाँकी रहेको भन्दै उनले केही समय पर्खिएका थिए। अन्ततः उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमा थापाले आफू सभापतिको जिम्मेवारीबाट अलग भए पनि पार्टीप्रतिको आफ्नो प्रतिबद्धता कायमै रहने स्पष्ट पारेका छन्। ‘अब म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरू तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछु, उनीहरूको भावना बुझ्नेछु र सुझाव संकलन गर्नेछु,’ उनले उल्लेख गरेका छन्, ‘नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा अझ सक्रिय र ऊर्जावान रूपमा संलग्न रहनेछु।’
थापाले निर्वाचन परिणामबारे स्पष्ट धारणा राख्दै पार्टी आफ्नो नेतृत्वमा चुनावमा गएकोले त्यसको जिम्मेवारी आफूले लिनुपर्ने बताएका छन्। ‘मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन परिस्थितिमा सम्हालेँ भन्ने कुरा गौण हो,’ उनले भनेका छन्, ‘मुख्य कुरा पार्टी मेरो नेतृत्वमा चुनावमा सहभागी भएको थियो, त्यसैले नतिजाको जवाफदेहिता मबाटै सुरु हुनुपर्छ।’
उनले पार्टीको कमजोर प्रदर्शनका कारणसमेत औंल्याएका छन्। उनका अनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसँगै संगठनभित्र सुधार र आत्मसमीक्षाको प्रक्रिया सुरु गरे पनि त्यसको प्रभाव आम मतदातासम्म प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय उपलब्ध हुन सकेन। ‘कार्यकर्तामा उत्साह देखिए पनि “बदलिएको कांग्रेस” को सन्देश जनतामाझ पुर्याउन समय अपुग रह्यो,’ उनले उल्लेख गरेका छन्।
थापाले आफ्नो छोटो कार्यकाललाई सिकाइपूर्ण अनुभवको रूपमा लिँदै भविष्यमा पार्टीलाई सुदृढ र जनमुखी बनाउन निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। उनले पार्टीभित्र सुधारको प्रक्रिया अझ तीव्र बनाउन र जनविश्वास पुनः स्थापित गर्न सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गरेका छन्।
उनको राजीनामापछि नेपाली कांग्रेसभित्र आगामी नेतृत्व, संगठन पुनर्संरचना तथा राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा