सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा जेठ १८ गते भारत गएका लामिछाने भ्रमण सम्पन्न गरी नेपाल फर्किएका हुन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण पारदर्शी र खुला ढंगले सम्पन्न भएको बताएका छन्। अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमण बन्द कोठाभित्र हुने परम्परा रहे पनि आफ्नो भ्रमण त्यसभन्दा फरक रहेको उनको भनाइ थियो।
लामिछानेले भारतमा भएका सबै औपचारिक भेटवार्तामा नेपालका कार्यवाहक राजदूतको उपस्थिति रहेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका सम्पूर्ण छलफल पारदर्शी रहेको दाबी गरे। उनले नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा गहन छलफल भएको र संवाद विभिन्न चरणमा अघि बढिसकेको जानकारी दिए।
उनका अनुसार भ्रमणको मुख्य केन्द्र राजनीतिक सम्बन्धलाई अर्थराजनीतिसँग जोड्दै विकास, लगानी, आर्थिक सहकार्य तथा साझा समृद्धिका सम्भावनामा केन्द्रित थियो। उनले विकासलाई आधार बनाएर दुई देशबीच सहकार्यका नयाँ क्षेत्रहरू खोज्ने विषयमा सकारात्मक संवाद भएको बताए।
“धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गर्छन्। हाम्रो भ्रमणमा भने मित्रराष्ट्रका प्रतिनिधि तथा कार्यवाहक राजदूतको उपस्थितिमै पारदर्शी छलफल भएको छ,” उनले भने, “हामी राजनीतिलाई अर्थराजनीतिमा रूपान्तरण गर्दै विकास र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढ्न चाहन्छौं।”
पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा विवादबारे पनि प्रश्न उठेको थियो। त्यसको जवाफ दिँदै लामिछानेले यस्ता संवेदनशील विषयहरूको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा राखे। उनले सार्वजनिक रूपमा हल्ला गर्ने वा उत्तेजना फैलाउनेभन्दा चरणबद्ध कूटनीतिक पहल नै प्रभावकारी हुने बताए।
“कुनै पनि विषयको समाधान कूटनीतिक माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। हल्ला गरेर वा ढोल बजाएर हुँदैन। गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने तरिकाले र चरणबद्ध रूपमा काम गर्नुपर्छ,” उनले भने।
लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय राजनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा भएका छलफलहरूको ठोस परिणाम आगामी दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा