सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, कार्तिक २ । राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिएका छन्। उनीहरूले आर्थिक प्रलोभन र भावनात्मक रूपमा बोक्सी कसुरविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएका हुन्।
महिलाअधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीविरुद्ध एकै घरमा कोठा भाडामा बस्ने छिमेकीले ८ असोजमा बोक्सीको आरोपमा दुव्र्यवहार र यातना दिएका थिए। अहिले पीडकहरूले गल्ती भएको भन्दै माफी दिन आग्रह गरेको राजकुमारीकी छोरी रसना ढकालले बताइन्।
‘राजनीतिक व्यक्तिबाट दबाब आएन, तर पीडक पक्षबाट मुद्दा फिर्ता लिन चर्को दबाब आइरहेको छ ।’ छोरी रसनाले भनिन्। ‘जे भयो भयो, बच्चाहरूले गल्ती गरे माफ गरिदिनुस् भन्दै थिए । हामीले मानेनौँ ।’
उनीहरूले भनेको नमानेपछि पीडकहरूले अन्य व्यक्तिलाई समेत फोन गर्न लगाएको रसनाले बताइन्। ‘घरमै आएर आग्रह गरे। त्यति गर्दा पनि नमानेपछि आर्थिक प्रलोभन देखाए ।’ उनले भनिन्।
‘५० हजारदेखि दुई लाखसम्मको अफर आएको थियो। हामीले कानुनी उपचार नै विकल्प हो भन्यौँ ।’ उपाध्याय पर्सामा डेढ दशकदेखि महिलाअधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी हुन्। उपाध्यायले पनि आफूलाई बोक्सीको आरोप लगाउनेहरूलाई कानुनी कारबाही गराएरै छोड्ने बताइन्। ‘मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन्।
तर, हामीले मानेका छैनौँ ।’ उनले भनिन् ‘एउटा अधिकारकर्मी भएर मैले नै गलत गर्नेहरूलाई उम्कन दिएँ भने अरूको अवस्था के होला रु त्यसैले म उनीहरूलाई कारबाही गराएरै छोड्छु । ’
पीडित राजकुमारीको स्वास्थ्य सुधार हुँदै
बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना खेपेपछि राजकुमारी उपाध्यायको स्वास्थ्य अवस्था निकै कमजोर बनेको थियो। घटनापछि उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो। नारायणी उपक्षेत्रीय अस्पतालमा चार दिन उपचारपछि काठमाडौँ लगेको छोरी रसना ढकालले बताइन्।
काठमाडौंको टिचिङ अस्पतालमा सात दिन उपचारपछि उनलाई वीरगन्ज ल्याइएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवारका सदस्यले बताएका छन्।
पीडकहरू पुर्पक्षका लागि थुनामा
राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाउनेलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला अदालतले घटनामा संलग्न सशस्त्र प्रहरी जवानसहित पाँचैजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार ठाकुर खरेलले जानकारी दिए।नयाँ पत्रिकाबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा